माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपाल अध्ययन सम्झौता अन्तिम चरणमा

काठमाडौँ, असार १२ गते । माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबिच बैंककस्थित संयुक्त राष्ट्रसङ्घीय सम्मलन केन्द्रमा भएको भेटवार्तामा माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालका तर्फबाट सकारात्मक प्रगतिबारे जानकारी आादानप्रदान भएको छ ।

भेटमा स्वास्थ्यमन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्नेगरी गृहकार्य भइरहेको माल्दिभ्सका राज्यमन्त्रीलाई जानकारी दिनुभयो ।उहाँले नेपालमा एमडी एमएसका अलावा एमबीबीएसमा माल्दिभ्सका विद्यार्थी स्वागत गर्न तयार रहेको भन्दै नेपालीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताउनुभयो ।

 

मन्त्री पौडेलले माल्दिभ्समा नेपालीहरु काम गर्ने सङ्ख्या बढिरहेको तर उनीहरुले रकम घर पठाउन समस्या परेको जानकारी दिनुभयो । प्रतिउत्तरमा माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीले अर्थ मन्त्रालयसँग कुरा गरेर समाधान निकाल्ने बताउनुभयो ।

 

नेपालले माल्दिभ्सका मेडिकल विद्यार्थी आकर्षित गर्न आवश्यक नीतिगत परिमार्जनको तयारी गरिरहेको छ । त्यहाँका स्वास्थ्य मन्त्रीसँग तीन महिना अघि इण्डोनेसियामा स्वास्थ्य मन्त्री पौडेलसँगको वार्तापछि जेनेभामा समेत यसबारे कुराकानी भएको थियो । मन्त्री पौडेलले विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षा दिने सम्बन्धमा सुझाव दिन कार्यदलसमेत गठन गरेर गृहकार्य थाल्नुभएको थियो ।

 

त्यसयता माल्दिभ्सले पठाएको मस्यौदामा स्वास्थ्य मन्त्रालयले आवश्यक परिमार्जन गरेर सम्झौता गर्ने तयारी भइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...