पोखरा — ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयमा चारदिनमा ११ हजार ९१६ पिन्ट रक्त संकलन गरेको छ । यही भदौ ६ गतेदेखि संस्थाको समाजसेवा प्रभागको आयोजनामा नेपालभरका शाखा र क्षेत्रीय कार्यालयमा गरिएको उक्त रक्तदान कार्यक्रममा आजसम्म उक्त परिमाणमा रक्त संकलन गरिएको तथ्यांकको जानकारी संस्थाका नेपालका महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालले दिनुभएको छ ।
सो संस्थाको पूर्व मुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८ औँ पुण्य तिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा रक्त संकलन गरिएको हो । केन्द्रले नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन गर्ने लक्ष्य लिएको थियो ।
नेपालको काठमाडौँ, विराटनगर, नारायणगढ, राजविराज, वीरगञ्ज, पोखरा, दाङ, बुटवल, हेटौँडा, जनकपुर, भैरहवा, धनगढी, पाल्पा, बाग्लुङ र नेपालगञ्जमा रक्त संकलन गरिएको हो ।
भदौ ६ गते एकैदिनमा पाँच हजार ४७ पिन्ट रगत संकलन भएको थियो । सो परिमाणमा रगत संकलन हुनु नेपालको सन्दर्भमा हालसम्मकै उच्च रहेको विज्ञप्तिमा जनाइएको छ ।
मानसिक शान्तिको लागि योगअभ्यास र अन्य क्रियाकलाप गराउने विश्वविद्यालयले मानव जीवन बचाउनका लागि रक्तदानमार्फत योगदान गरेको हो । आम नागरिकलाई यो संस्था समाजको अभिन्न अंग भएको समेत यो कार्यले पुष्टी गरेको छ ।