
यसका लागि होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीसहितको एक टोलीले आइतबार केन्द्रिय बैंकका गभर्नर विश्वनाथ पौडेल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई भेटी आफ्ना दुःखेसो सुनाएका थिए ।
अध्यक्ष सुवेदीका अनुसार गभर्नर पौडेलसँगको भेटका क्रममा मुख्य पर्यटन मौसमको मुखैमा आएर नेपाली पर्यटनले ठूलो बज्रपातको सामना गर्नुपरेको विषय व्यवसायीले स्मरण गराएका थिए । अहिलेको अवस्थामा पर्यटन क्षेत्र तत्काल रिभाइभ हुने अवस्थामा नभएकोले मौद्रिक नीति मार्फत् व्यवसायीका अफ्ठ्यारा र समस्या संवोधन गरिनुपर्ने सुझाव राखिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
यसैगरी भौतिक क्षति पुगेका पोखराका पर्यटकीय संरचनालाई राहत र क्षतिपूर्ति दिलाउनुपर्ने माग पनि व्यवसायी सो क्रममा राखेका थिए । अहिले तिर्नुपर्ने बैंक तथा वित्तिय संस्थाको किस्ताको समय कम्तिमा ६ महिना सारिदिनुपर्ने, ऋणको पूर्नतालिकिकरण गरिदिनुपर्ने र संचालन खर्चका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्नुपर्ने माग पनि व्यवसायीले राखेका थिए ।
पोखराका प्रमुख पर्यटकीय संघसंस्थाका अध्यक्ष र प्रतिनिधि सम्लित टोलीले अर्थमन्त्री रामेश्वर खनाललाई पनि भेट्ने कार्यक्रम रहेको छ । आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीका कारण पर्यटन क्षेत्रमा २५ अर्ब रुपैयाँ हाराहारीको क्षति भएको आँकडा यसअघि हानले सार्वजनिक गरिसकेको छ । भएका बुकिंग पनि अधिकांश रद्द भएको व्यवसायीले बताएका छन् ।