माैसम खुलेपछि पाेखराबाट देखिएका हिमाल (फाेटाे फिचर)

पाेखरा,असाेज २३ गते ।पोखरा भन्नेबित्तिकै मनको आँखामा एउटा तस्बिर आइपुग्छ—फेवातालमा माछापुच्छ्रे हिमालको छाया खेलिरहेको। टे्रडमार्क नैै बनेको छ हिमाल पोखराको। तर हिमाल जहिले पायो तहिले कहाँ देखिन्छ र जुनसुकै मौसममा छ्याङ्ग खुल्दैन। असाेजको अन्दोतिम हप्ता यो वर्षको पहिलोपटक पोखराले निख्खर हिमाल हेर्योु र हिमालले पोखरा। त्यसयता भने दिनदिनै हिमालले बादलको पर्दा हटाएर पोखरालाई हेर्न थालिसकेको छ।

तस्वीरहरु:एकराज गिरी 


घुमक्कडहरुको ‘प्याराडाइज’ पोखरा आउँदा हिमाल खुलेन वा देख्न पाइएन भने त्यो यात्रा सार्थक हुँदैन। हरिया डाँडापाखा त जुनसुकै ठाउँमा पनि छन्। तर पोखराबाट जसरी हिमालसँग आँखा जुधाउन अन्त कहिँबाट पाइन्न। हो, हिमाल पनि नेपालका अरु धेरै डाँडाबाट समेत देखिन्छ। तर पोखराबाट देखिने र अन्तबाट देखिनेको हिमाली सौन्दर्यको अन्तर नाप्ने यन्त्र विज्ञानले बनाइसकेको छैन।

असाेज पहिलाे हप्ताबाट खुल्न थालेको हिमालको रङ अरुबेला भन्दा भिन्न छ। ‘अहिलेको हिमाल दूधे हिमाल हो, ‘अर्काे महिना हिउँको रङ फरक देखिन थाल्छ।’ जब हिमाल खुल्न थाल्छ तब सौन्दर्य पारखी पोखरा भित्रन थाल्छन्। हिमाल खुल्न सुरु हुनु भनेको पोखरा घुम्ने मौसम सुरु हुनु हो। हिमाल उघि्रन थाल्नु भनेको पोखरामा तापक्रम ओर्लन थाल्नु पनि हो।

नेपालका धेरै सहरभन्दा शीतलो यो ठाउँ काठमाडौंमा भन्दा ३/४ डिग्री बढी गर्माउँछ। तर अब हिमाल खुल्न थालिसकेको आकाशबाट घामले पोखरालाई तताउने र मान्छेको पसिना निकाल्ने तागत राख्दैन।हिमाली शृंखला, हिमाल र पोखरासँग धेरैथरी विशेषता जोडिएका छन्। त्यसैले हिमाल खुल्नु सुरु हुनुको खास अर्थ हुन्छ पोखरामा।

पोखराबाट माछापुच्छे्र हिमालसम्मको हवाई दुरी ३३ किलोमिटरमात्रै हो। यति अग्लो हिमाल र यति नजिकको सहर विश्वमा विरलै भेटिन्छ भन्छन् पर्यटनकर्मी। दुरी छोटो भए पनि हिमाल हेर्दा स्विटर वा जाकेट भिर्नुपर्दैन पोखरामा टिसर्टै काफी हुन्छ। यो उपत्यका यस मानेमा पनि भाग्यमानी छ कि संसारका सबैभन्दा अग्ला १४ हिमालमध्ये ३ यहींबाट देखिन्छन्— धौलागिरि, अन्नपूर्ण र मनास्लु। ८ हजार मिटरभन्दा अग्ला चुचुरा यति संस्ख्यामा दुनियाँको अर्काे कुनै एकै सहरबाट देखिन्न।


घुमफिर रुचाउनेको लिस्टमा पर्ने धेरै ठाउँका धेरैखाले विशेषता पक्कै हुन्छन्। ती विशेषताको स्वाद लिन त्यस्ता गन्तव्यको पनि कुनै निश्चित ठाउँ नपुगी धरै हुँदैन। पर्यटनविद झलक थापा भन्छन्, ‘पोखरामा भने हिमाल हेर्दिन भनेर पनि सुख पाइन्न, हेर्नै पर्दैन आउँदाआउँदै देखिन्छ।’ हो पोखरामा हिमाल हेर्ने भनेर कुनै निश्चित प्वाइन्ट छैन। काठमाडौंबाट आउँदा कास्की नटेक्दै तनहुँको दुलेगौंडातिरैबाट देखिन थाल्छ हिमाल।

पोखरै आइपुगेपछि भने उत्तर फर्किए पुग्छ दैनन्दिन कामकाज गर्दागर्दै जहाँकहिँबाट पनि देखिन्छ हिमाल। कहिँकहिँ भने केही घरले छेक्लान् नत्र बाटोघाटो, पुल, मन्दिर र चौताराहरु सबैसबैलाई हिमाल हेर्ने प्वाइन्ट भन्दिए हुन्छ।पोखरा खाल्डोबाटै देखिने हिमालको सूची माछापुच्छ्रे र अन्नपूर्ण अनि धौलागिरि र मनास्लुमा टुंगिदैन। लस्कर लामो छ। पश्चिमबाट सुरु गर्ने हो भने धेरैका आँखा धौलागिरी प्रथम हिमालमा पर्छ। किनभने यो धेरैले चिनेको हिमाल हो। त्योभन्दा अझै उता देखिने पनि छ—पुठ्ठा हिउँचुली। धौलागिरिपछि पूर्वतिर आँखा मोड्दै ल्याउँदा देखिन्छ मोदित्से हिमाल। अन्नपूर्ण साउथ नामले चिनिने हिमाल चौथो नम्बरमा देखिन आइपुग्छ। घान्द्रुक हिउँचुली अन्नपूर्ण प्रथम क्रमशः देखिँदै आउँछन्।

अन्नपूर्ण प्रथम (८०९१ मिटर) त्यही हिमाल हो जसले पोखरालाई मात्रै होइन नेपाललाई नै विश्वमा चिनायो। ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमालमध्ये सबैभन्दा पहिला मानव पाइला परेको हिमाल यही हो। आरोहणका मामलामा सगरमाथाभन्दा ३ वर्ष जेठो छ अन्नपूर्ण प्रथम। फ्रान्सका नागरिक मौरिस हर्जाेग नेतृत्व टोलीले २००७ साल जेठ १९ गते अर्थात सन् १९५० को जुन ३ तारिख यो हिमाल चढेको थियो। त्यो खुसीलाई फ्रान्सले राष्ट्रिय महोत्सवकै रुपमा आयोजना गरेर मनायो। त्यसपछि फ्रान्समा पोखरामात्रै होइन विश्वैभरि नेपाल प्रचारित भयो।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...