कालिका माविलाई पूर्वविद्यार्थीद्वारा विविध सामग्री हस्तान्तरण

पोखरा, मङ्सिर ६ गते । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीहरूले विभिन्न सामग्री हस्तान्तरण गरेका छन् ।सो विद्यालयबाट २०७५ सालको एसइई उत्तीर्ण विद्यार्थीहरूले विद्यालयका प्रत्येक कक्षाकोठामा पङ्खा जडान गर्नुका साथै बिजुलीको थप व्यवस्थापन गरेका छन् । विद्यार्थीहरूले शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापा, शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्मा र प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद तथा स्टेसनरी सामग्रीसमेत हस्तान्तरण गरे । समूहका सुशील विक, मदन आचार्य र सुरेश गुरुङले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा पूर्व विद्यार्थी सुशील विकले आफूहरूले विद्यालयप्रतिको कर्तव्यबोधका कारण सकेको सहयोग गरेको बताए । उनले आफूहरूसँग पैसा भएर नभई सबैलाई आफू पढेको विद्यालयप्रतिको कर्तव्य स्मरण गराउनका लागि पनि यो कार्यक्रम गरेको बताउँदै समग्र विद्यालय परिवारलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम लिएर विद्यालय आउने प्रतिबद्धता जनाए । उनका अनुसार सामग्री खरिद गर्नका लागि देशभित्र र बाहिर रहेका पूर्व विद्यार्थीहरू सञ्जय विक, सुस्मिता सुनार, प्रकाश पुन, कार्तिक बानिया, सुरेश गुरुङ, सुबोध गुरुङ, पूर्णिमा श्रेष्ठ, शिवराज चापागाईँ, सुशील विक, प्रीति श्रेष्ठ, मन्दिप रानाभाट, पवित्रा लामा, मदन आचार्य र भुवन थापाको सहयोग रहेको छ ।

 

सहायक प्रधानाध्यापक बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाले विद्यालयलाई पूर्वविद्यार्थीहरूले गरेको सहयोगप्रति धन्यवाद दिँदै अन्य विद्यार्थीहरूलाई पनि आफूले सकेको सहयोग गर्न आग्रह गरे ।शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माले विद्यालयले क्रमशः राम्रा काम गर्दै गएको बताउँदै पूर्वविद्यार्थीहरूले पनि विद्यालयको हितमा काम गर्नका लागि जोडिनु सुखद भएको बताए । कार्यक्रमको सञ्चालन शिक्षिका सिर्जना महतले गरेकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...