काठमाडौं । भदौ २३ र २४ गतेको घटनालाई प्रतिक्रान्ति र त्यसपछिको संसद विघटनलाई प्रतिगमन भनेको नेकपा एमालेले शनिवार काठमाडौंको भृकुटीमण्डपमा बागमती प्रदेशस्तरीय विरोध सभा आयोजना गरेको छ । त्यसअघि एमालेले रत्नपार्कलगायतका ठाउँका दशौं हजारको जुलुस निकालेका थियो ।

बागमती प्रदेशका उपत्यका वरिपरिका जिल्लाबाट समेत एमालेका कार्यकर्ता सहभागी प्रदर्शन व्यवस्थित र भव्य थियो ।विरोध प्रदर्शनपछि भृकुटीमण्डपमा आयोजित सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्दै शीला कार्की नेतृत्वको सरकारलाई संविधानले नचिनेको दाबी गरेका छन्। भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै यो सरकार गठनबारे सर्वोच्च अदालतले उचित फैसला गर्ने विश्वास व्यक्त गरे।
तोडफोड, आगजनी र लुटपाटबाट यो सरकार बनेको भन्दै जनताको समर्थन नरहेको दाबी गरे। आफूहरूले देशमा भ्रष्टाचार अन्त्य गर्नको लागि काम गरिरहेको जिकिर गरे।उनले भने, ‘जेनजीको नाममा युवाहरूलाई भ्रममा पर्ने र उनीहरूको सेन्टिमेन्टलाई दुरुपयोग गर्ने काम भयो। भ्रष्टाचारको विरुद्ध हामी लडिरहेका थियौँ। सुशासन र विकासको पक्षमा हामी लडिरहेका थियौँ। हामीले हाम्रो देशको कानुन मानेर काम गरिरहेका थियौँ।’
उनले आफूहरूले सामाजिक सञ्जाल नियमन गर्ने प्रयास गरिरहेको बेलामा जेनजीको नाममा दुरुपयोग गरेर आन्दोलनमा उकासेको बताए। जेनजीको माग सबै कब्जा गरेर षड्यन्त्र गरेरै राज्यका संरचना, नेता कार्यकर्ताहरूको घर जलाइएको दाबी गरे।
महासचिव शंकर पोखरेलले देशमा प्रतिगमन भएको भन्दै एमालेले लोकतन्त्रको दिशामा अघि बढाउने बताएका छन्। भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै जेनजी विद्रोहपछि भएको परिवर्तन जनताको नभएको दाबी गरे।उनले भने, ‘भदौ २३ र २४ गते जति मानिसहरू सडकमा आएर विध्वंस मच्चाए, त्यसको चार गुणा धेरै मान्छे एमालेको एकल आह्वानमा सडकमा आइरहेका छन्। यो परिवर्तन जनताको परिवर्तन होइन। यो आतङ्क र हिंसाबाट गरिएको परिवर्तन हो।’
उनले संविधानलाई क्रियाशील बनाउन प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको बताए। विध्वंसको जगमा खडा भएको सरकारले चुनाव गराउन नसक्ने बताए। उनले मंसिर २७ गते महाधिवेशन उद्घाटनमा भव्य बनाउने तयारी भइरहेको बताए।उनले भने, ‘महाधिवेशन उद्घाटन समारोह नेपालको इतिहासमै सबैभन्दा धेरै जनताको जमघट भएको समारोहका रूपमा देखाउन चाहन्छौँ।’महासचिव पोखरेलले भदौ २३ र २४ लाई प्रतिक्रान्ति भन्दै त्यसपकिो परिवर्तन राजनीतिक नभएर हिंसा,तोडफोड र आगजनीबाट गरिएको आरोप समेत लगाए ।