पोखरा ७ पौष । पोखरामा पुस ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् ।

पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि दुई महिनादेखि तयारी गरिएको बताए ।
यस प्रतियोगितासँग सम्बन्धित संस्थागत तथा सामुदायिक विद्यालयसँग धेरै पटक छलफल गरिएको उनको भनाइ छ । अघिल्ला संस्करणहरूमा जन्ममितिका कारण बढी मात्रामा विवाद आउने गरेकोले यसपालि विद्यालय भर्ना हुँदा प्रत्येक विद्यार्थीलाई दिइने ‘इमिस कोड नम्बर’को आधारमा कडाइ गरिएको उनले खुलाए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले पोखरा महानगरपालिकामा रहेका झण्डै २ सय ६० विद्यालय मध्ये १ सय ८० भन्दा बढी विद्यालयको विभिन्न खेलमा सहभागिता रहने उल्लेख गरे । ७० प्रतिशत भन्दा बढी विद्यालय सहभागी बन्ने निश्चित भएको भन्दै अर्को वर्ष सत प्रतिशत पुर्याउने लक्ष्यका साथ कार्य गर्ने समेत प्रतिवद्धता जनाए । पोखरा महानगरपालिकाको भूगोलको कारण समेत सबै विद्यालय सहभागी हुन समस्या भएको उनले औँल्याए ।
पौष ११ गतेसम्म चल्ने प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुने पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए । जस अनुसार भलिबलमा छात्र तर्फ ४५ विद्यालयका ४ सय ५० जना र छात्रातर्फ २३ विद्यालयका २ सय ३० जना खेलाडी सहभागी हुनेछन् । कबड्डी छात्रतर्फ २० विद्यालयका २ सय जना र छात्रातर्फ ११ विद्यालयका १ सय १० जना खेलाडी सहभागी बन्ने निश्चित भएको छ ।
एथलेटिक्समा कुल ८४ विद्यालयका छात्रतर्फ ३ सय ७० जना र छात्रातर्फ २ सय ६५ जनाले प्रतिष्पर्धा गर्नेछन् । कराँतेमा ४१ विद्यालयका ६४ छात्र र ७० छात्राले प्रतिष्पर्धा गर्नेछन् । तेक्वान्दोतर्फ २६ विद्यालयका ४८ छात्र र ५० छात्राले सहभागिता जनाउनेछन् । उसुतर्फ २१ विद्यालयका ४० छात्र र ६५ छात्राले प्रतिष्पर्धा गर्नेछन् । मार्चपासमा ४५ विद्यालयका १ हजार ३ सय ५० विद्यार्थी सहभागी बन्ने सदस्य सचिव अधिकारीले खुलाए ।
एकजना खेलाडीले प्रतियोगितामा समावेश खेलका विधा मध्ये एउटा मात्र विधामा सहभागिता जनाउन पाउनेछ । परिवर्तित नियम लगायतको विषयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकालाई पालना गर्न पोखरा महानगरपालिका खेलकुद विकास समितिले आग्रह गरेको छ ।
भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वीतियले २० हजार र तृतीयले १२ हजार रुपैयाँ सहित पदक र प्रमाणपत्र पाउनेछन् । एथ्लेटिक्स एकल तर्फका प्रथमले ४ हजार, द्वीतियले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय तथा रिले खेलमा विजेता टिमले ६ हजार, द्वीतियले ४ हजार र तृतीयले २ हजार प्राप्त गर्ने अध्यक्ष गोदारले जानकारी दिए ।
यसैगरी मार्चपासमा प्रथम टिमले २० हजार, द्वीतियले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ पाउनेछन् । अन्य विधाका खेलाडीलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जनाए ।
प्रतियोगिताको उद्घाटन पोखरा रङ्गशालामा बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नेछन् । उद्घाटन समारोहमा मार्च पास, साँस्कृतिक कार्यक्रम र तेक्वान्दो डेमोस्ट्रेसन समेत हुनेछ । प्रतियोगितालाई भव्य बनाउन अध्यक्ष दीपक बहादुर गोदारको संयोजकत्वमा व्यवस्थापन तथा निर्देशन समिति र १० वटा विभिन्न उपसमिति निर्माण गरिएको आयोजकको भनाइ छ ।