पोखरा महानगर स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड सुरु

पाेखरा ।पोखरा महानगर स्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौँ मेयर कप प्रतियोगिता बुधवारदेखि सुरु भएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गरे । पुस ११ गतेसम्म पोखरा रंगशालमाा सञ्चालन हुने प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नगर क्षेत्रमा सञ्चालनमा रहेका २ सय ६० विद्यालय मध्ये १ सय ८० भन्दा बढी विद्यालयले सहभागिता जनाएका छन् ।

 

प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरी ६ वटा विधामा प्रतिस्पर्धा हुनेछ। जस अनुसार भलिबलमा छात्र तर्फ ४५ विद्यालयका ४ सय ५० जना र छात्रातर्फ २३ विद्यालयका २ सय ३० जना खेलाडी सहभागी छन् । कबड्डी छात्रतर्फ २० विद्यालयका २ सय जना र छात्रातर्फ ११ विद्यालयका १ सय १० जना खेलाडी सहभागी छन् । एथलेटिक्समा कुल ८४ विद्यालयका छात्रतर्फ ३ सय ७० जना र छात्रातर्फ २ सय ६५ जनाले प्रतिस्पर्धा गर्ने छन् । कराँतेमा ४१ विद्यालयका ६४ छात्र र ७० छात्राले प्रतिस्पर्धा गर्नेछन् । तेक्वान्दोतर्फ २६ विद्यालयका ४८ छात्र र ५० छात्राले सहभागिता जनाएका छन् । उसुतर्फ २१ विद्यालयका ४० छात्र र ६५ छात्राले प्रतिस्पर्धा गर्नेछन् । मार्चपासमा ४५ विद्यालयका १ हजार ३ सय ५० विद्यार्थी सहभागी भएका छन् ।

 

भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ सहित पदक र प्रमाणपत्र पाउनेछन् । एथलेटिक्स एकल तर्फका प्रथमले ४ हजार, द्वितीयले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय तथा रिले खेलमा विजेता टिमले ६ हजार, द्वितीयले ४ हजार र तृतीयले २ हजार प्राप्त गर्नेछन्। यसै गरी मार्चपासमा प्रथम टिमलाई २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष दीपक गोदारले बताए ।

 

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले खेलकुदले राष्ट्रिय एकता र सद्भावको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उपप्रमुख मन्जुदेवी गुरुङले खेलाडीहरूको हौसला बढाउँदै उनीहरूमा अनुशासन र खेल भावनाको विकासका लागि यस्ता प्रकारका प्रतियोगिताहरू आवश्यक हुने बताए । सामाजिक भावना र आत्मविश्वास अभिवृद्धिमा पनि खेलले महत्त्वपूर्ण योगदान गर्ने उनले बताइन ।

 

शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले खेलकुदलाई आफ्नो जीवनको मुलआधारका रूपमा उभ्याउनका लागि विद्यालय तहबाट नै लाग्नु पर्ने बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...