जेन्जी अभियन्ता नवराज पौडेल रास्वपामा प्रवेश

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाका युवा नेता तथा जेन्जी अभियन्ता नवराज पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका पौडेलले बिहीबार एक स्वघोषणामार्फत रास्वपामा समाहित भएको जानकारी दिएका हुन् ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर उनले आफ्नो धारणा सार्वजनिक गर्दै विगत एक दशकभन्दा लामो वैकल्पिक राजनीतिक यात्रालाई नयाँ गन्तव्यतर्फ लैजान सृजनशील राजनीतिक राजमार्ग रोजेको उल्लेख गरेका छन् । सोही क्रममा उनले रास्वपामा आबद्ध भएको घोषणा गरेका हुन् ।

यसअघि पौडेलले आफ्नो २७औँ जन्मदिनको अवसर पारेर बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी परित्याग गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनले अन्नपूर्ण गाउँपालिकालाई विश्वस्तरीय पर्यापर्यटन हबका रूपमा विकास गर्न सकिने दाबी गर्दै पर्यापर्यटन प्रवर्द्धन, जैविक विविधता संरक्षण र पर्यटन विकासका नवीन मोडल तथा एजेन्डासहित उम्मेदवारी घोषणा गरेका थिए ।

पौडेल यसअघिको स्थानीय तह निर्वाचनमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष पदका लागि सबैभन्दा कान्छा उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका थिए, यद्यपि उनी पराजित भएका थिए ।

पञ्चासे क्षेत्र केन्द्रित जैविक विविधता अध्ययन–अनुसन्धान, पर्यापर्यटन प्रवर्द्धन तथा ग्रामीण होमस्टे विकासमा सक्रिय पौडेल कलिलो उमेरमै राजनीतिमा प्रवेश गरेका थिए । उनी पछिल्लो एक दशकदेखि वैकल्पिक राजनीतिक यात्रामा संलग्न रहँदै आएका छन् ।

जेन्जी आन्दोलनका क्रममा राजनीतिक विकृति, विसंगति तथा स्थानीय तहमा देखिएको संस्थागत भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउँदै आएका पौडेल एक सामाजिक अभियन्ताका रूपमा पनि परिचित छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...