पोखरा । आदर्श युवा क्लबको आयोजनामा सञ्चालन हुन लागेको २६ औं आदर्श कप–२०८२ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताका विषयमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले प्रतियोगिताको सम्पूर्ण तयारी करिब पूरा भएको जानकारी दिएका हुन ।प्रतियोगिता २०८२ माघ ९ गतेदेखि १६ गतेसम्म पोखरा महानगरपालिका वडा नं. २९ भण्डारढिक, सैनिकबस्तीस्थित लेखनाथ रंगशालामा सञ्चालन हुनेछ ।

“निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता” भन्ने नारा सहित संचालन हुने प्रतियाेगितामा गण्डकी प्रदेशभित्रका २ विभागीय टिमसहित ८ टिम सहभागी हुने क्लबका सचिव सन्ताेष गुरुङले बताए ।
प्रतियोगितामा आयोजक आदर्श युवा क्लब, कास्की र तनहुँ जिल्ला फुटबल संघ, नेपाल प्रहरी (गण्डकी प्रदेश), सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी, म्याग्दी जिल्ला खेलकुद विकास समिति, गन्नी फुटबल क्लब पर्वत तथा होराइजन क्लब वालिङ–स्याङ्जा सहभागी रहनेछन् ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु. ४,९९,९९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले रु. ३,३३,३३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीलाई रु. २५,००० नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने अन्य विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई रु. १५,००० नगदसहित सम्मान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडीलाई रु. ५,००० नगद र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको क्लबले जनाएकाे छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले प्रतियोगिताले गण्डकी प्रदेशको फुटबल विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । “लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको आदर्श कपले स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका खेलाडीलाई अवसर प्रदान गर्दै आएको छ । यस वर्षको प्रतियोगितालाई अझ व्यवस्थित, अनुशासित र प्रतिस्पर्धात्मक बनाउने हाम्रो लक्ष्य हो,” अध्यक्ष गुरुङले बताए ।
उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीहरूको खेल स्तर तथा मनोबल वृद्धि गर्नु, शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउनु, लोकप्रिय खेल फुटबलको प्रवर्द्धन तथा विकास गर्नु रहेको छ ।
खेलकुदमार्फत खेलाडीबीच आपसी परिचय र भाइचारा विकास गर्नु, नयाँ खेलाडीलाई प्रोत्साहन गर्दै क्षमता अभिवृद्धि गर्नु, क्षेत्रीय तथा राष्ट्रिय स्तरमा क्लब र स्थानको पहिचान गराउनु तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्दै खेल पर्यटनको विकास गर्नु पनि प्रतियोगिताका लक्ष्यहरू रहेका छन् ।
संरक्षक पोखरा महानगरपालिका वडा नं. २९ कार्यालय रहेको छ भने विशेष सहयोगी संस्थाहरूमा राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ (एन्फा) र जिल्ला खेलकुद विकास समिति कास्की रहेका छन् ।
त्यस्तै सहयोगी संस्थाहरूमा गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, पोखरा महानगरपालिका वडा नं. २६, २७, २८, ३०, ३१, ३२ र ३३ का कार्यालयहरू, लेखनाथ उद्योग वाणिज्य संघ, विभिन्न शैक्षिक संस्था तथा मादी र रुपा गाउँपालिका रहेका छन् ।
अध्यक्ष गुरुङका अनुसार प्रतियोगिताको अनुमानित लागत ६१ लाख रुपैयाँ रहेको छ र आर्थिक व्यवस्थापन आयोजक क्लब, विभिन्न प्रायोजक, सरकारी तथा गैरसरकारी निकाय, प्रवेश टिकट तथा शुभेच्छुकहरूको सहयोगमा गरिनेछ ।
प्रवेश टिकट दर क्वाटरफाइनल र सेमिफाइनलसम्म रु. १०० र फाइनल खेलका लागि रु. २०० तोकिएको अध्यक्ष गुरुङले जानकारी दिए । साथै प्रतियोगिता अवधिभर सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक, सुरक्षाकर्मी, पत्रकार तथा निजामती एवं सरकारी कर्मचारीलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए ।