पाेखरा ।कास्की जिल्ला क्लब–लेभल एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत सम्पन्न खेलमा माछापुच्छ्रे क्रिकेट क्लब (MCC) ले गण्डकी स्पोर्ट्स क्लब (GSC) लाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

गण्डकी स्पोर्ट्स क्लबले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको माछापुच्छ्रे क्रिकेट क्लबले ५० ओभरमा ५ विकेट गुमाउँदै २७१ रनको बलियो योगफल बनायो। MCC का सुमित श्रेष्ठले १५८ बलमा १३० रनको उत्कृष्ट शतकीय पारी खेले। उनलाई प्रमोद बस्तोलाले २४ र दीपक माझीले २३ रन जोड्दै राम्रो साथ दिए।
गण्डकी स्पोर्ट्स क्लबका बलरहरूमध्ये सम्राट अधिकारीले १० ओभरमा ३१ रन खर्चेर १ विकेट लिए। श्रिराम प्रजापति र अनिश पोखरेलले समान १–१ विकेट लिए।
२७२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको गण्डकी स्पोर्ट्स क्लब २१.१ ओभरमै ५० रनमा अलआउट हुन पुग्यो। GSC का लागि श्रिराम प्रजापतिले ११ र विवेक अधिकारीले ९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्।
MCC का बलरहरूले घातक प्रदर्शन गरे। रितेश बरालले ५.१ ओभरमा मात्र ७ रन खर्चेर ५ विकेट लिँदै खेलको दिशा नै बदलिदिए। उनलाई लक्ष्मण क्षेत्री (२ विकेट) र रिदम पाण्डे (२ विकेट) ले उत्कृष्ट साथ दिए।
यस जितसँगै माछापुच्छ्रे क्रिकेट क्लब प्रतियोगितामा मजबुत दाबेदारका रूपमा प्रस्तुत भएको छ।खेलको प्लेयर अफ द म्याच माछापुच्छ्रे क्रिकेट क्लबका सुमित श्रेष्ठ घोषित भए।