काठमाडौं । नेकपा (एमाले) सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि तयार रहेको जनाएको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत देशको नेतृत्व गर्न चाहने सबै दलका प्रमुख नेताबीच पारदर्शी र खुला बहस आवश्यक रहेको उल्लेख गर्दै आफू डिबेटका लागि तयार रहेको बताएका हुन्।

अध्यक्ष ओलीले देश बनाउने र देश जलाउने प्रवृत्तिबीच प्रतिस्पर्धा भइरहेको वर्तमान राजनीतिक अवस्थालाई उल्लेख गर्दै नेकपा (एमाले) देश निर्माणको पक्षमा दृढतापूर्वक उभिएको बताए। उनका अनुसार नयाँ तथा पुराना सबै दलहरू चुनावी मैदानमा होमिएको अवस्थामा सामाजिक सञ्जालमार्फत फ्रेमिङ गरेर प्रचार सामग्री प्रस्तुत गर्ने प्रवृत्ति बढेको छ, जसले मतदातालाई भ्रममा पार्न सक्ने खतरा रहेको छ।
यही कारण सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख नेताहरूबीच आमनेसामने बहसको माग उठ्नु सकारात्मक भएको अध्यक्ष ओलीको भनाइ छ। उनले यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि नयाँ खुलेका दलसम्म प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा गएको उल्लेख गर्दै देशको नेतृत्व गर्न चाहने दलहरूको विगतको योगदान, वर्तमान एजेण्डा र भावी कार्ययोजनामाथि सार्वजनिक बहस आवश्यक रहेको बताए।
“हामीले यसअघि के–के गर्यौँ भन्ने तथ्य र अब कसरी काम गर्छौँ भन्ने स्पष्ट एजेण्डा लिएर म सार्वजनिक बहसमा उभिन तयार छु,” अध्यक्ष ओलीले लेखेका छन्। उनले चुनावपछि प्रधानमन्त्रीका रूपमा प्रस्तुत भएका सबै उम्मेदवारलाई एउटै मञ्चमा उभ्याएर सिधा प्रश्न–उत्तर हुने पब्लिक डिबेट आयोजना गर्न पनि आग्रह गरेका छन्।
अध्यक्ष ओलीको यो अभिव्यक्तिलाई आगामी निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र जवाफदेहिताको संकेतका रूपमा हेरिएको छ।