लेखनाथ, १५ माघ । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को प्रचार–प्रसार मूल समितिअन्तर्गत टोल समूह तथा टोल विकास संस्था समन्वय उपसमितिको बैठक सम्पन्न भएको छ। साथै बैठकले विभिन्न उपसमितिहरू गठन गरेको छ।

उक्त कार्यक्रम उपसमिति संयोजक तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सदस्य शान्ति खनालको अध्यक्षतामा कास्की क्षेत्र नं. १ को क्षेत्रीय निर्वाचन कार्यालयमा सम्पन्न भएको हो। बैठकको मुख्य उद्देश्य प्रतिनिधि सभा उम्मेदवार तिलकबहादुर रानाभाटलाई विजयी गराउने रहेको थियो।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार तिलक रानाभाटले समुन्नत नेपाल निर्माण कांग्रेसको एक मात्र उद्देश्य रहेको बताए। उनले पार्टीको नेतृत्व परिवर्तन भइसकेको उल्लेख गर्दै अब देश परिवर्तन गर्ने समय आएको धारणा राखे।
“हामीमा केही कमजोरी होलान्, तिनलाई सुधार गर्दै अगाडि बढ्छौं,” उनले भने, “व्यक्ति होइन, पात्र महत्वपूर्ण हो। चुनाव चिन्ह रुख हो र कांग्रेस नै हाम्रो पहिचान हो।”
उनले पार्टीको निर्देशनअनुसार सबै कार्यकर्तालाई संगठनात्मक रूपमा आ–आफ्नो स्थानबाट सक्रिय हुन आग्रह गर्दै कास्की क्षेत्र नं. १ कांग्रेसका लागि मजबुत क्षेत्र रहेको बताए।
त्यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसीले कांग्रेस लामो इतिहास बोकेको पार्टी भएको उल्लेख गर्दै अघिल्ला केही समयअघि देखिएका अकल्पनीय राजनीतिक घटनाक्रमका कारण संसद् विघटन भई निर्वाचनमा जानु परेको अवस्था स्मरण गरे। उनले कांग्रेस हरेक समस्याको समाधान गर्ने पार्टी भएको बताए।
पार्टीको विशेष अधिवेशन सम्पन्न भइसकेपछि अब पार्टीभित्र पक्ष–विपक्ष नरहेको स्पष्ट गर्दै उनले सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। विगतदेखि देखिँदै आएको राजनीतिक जटिलताको निकास चुनाव मात्र भएको भन्दै कास्की क्षेत्र नं. १ ले निष्कलंक उम्मेदवार पाएको र उहाँलाई विजयी गराउन सम्पूर्ण कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरे।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सह–महामन्त्री कोपिला रानाभाट, पार्टीका नेता, विभिन्न भ्रातृ संगठनका अध्यक्षहरू तथा सयौंको संख्यामा कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।