उज्यालाे पार्टीका उम्मेदवार गुरुङद्वारा २१ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक

एकराज गिरी /पोखरा।उज्यालो नेपाल पार्टीबाट कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुशल गुरुङले पोखराको दिगो विकास, पर्यावरण संरक्षण र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भाषण र नाराभन्दा काम र परिणाममा आधारित राजनीति गर्ने प्रतिबद्धता जनाए।

गुरुङले पोखरा सरकारको घोषणाले होइन, यहाँको अनुपम प्राकृतिक सौन्दर्यले पर्यटनको राजधानी बनेको सहर भएको बताए। विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये अन्नपूर्ण, धौलागिरी र मनास्लु पोखराबाट देखिनुका साथै विश्व रामसार सूचीमा सूचीकृत आठवटा तालहरूले पोखराको पर्यावरणीय सन्तुलन, पानीको सुनिश्चितता र सहरको शीतलता कायम राखेको उनले उल्लेख गरे।

तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण पोखरा गम्भीर संकटमा पर्दै गएको भन्दै उनले तालहरू सुक्दै जानु र हिमालका हिउँ पग्लिनु पोखरेली जनताको दोष नभई विश्वका औद्योगिक राष्ट्रहरूले गरिरहेको अत्यधिक कार्बन उत्सर्जनको परिणाम भएको धारणा राखे। उनले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि संयुक्त राष्ट्रसंघको हरित जलवायु कोषमार्फत अन्तर्राष्ट्रिय क्षतिपूर्ति प्राप्त गर्न संसदमा बलियो आवाज उठाउने बताए।

पर्यटन प्रवर्द्धनतर्फ गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालन गराई वार्षिक ३० लाख पर्यटक भित्र्याउने ठोस योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। साथै, पृथ्वीचोकस्थित बसपार्कलाई विस्तार तथा व्यवस्थित गर्दै अपांगमैत्री संरचना, सार्वजनिक शौचालय, स्तनपान कक्ष, स्नानगृह, बहुधार्मिक प्रार्थना स्थल र सुविधायुक्त प्रतीक्षालयसहित आधुनिक बसपार्क निर्माण गरिने बताए।

तालतलैया र सिमसार संरक्षणलाई प्राथमिकतामा राख्दै उनले फेवाताललाई रामसार मापदण्डअनुसार संरक्षण गर्ने, अतिक्रमण नियन्त्रण, ढल व्यवस्थापन र जैविक विविधताको संरक्षण सुनिश्चित गर्ने योजना सार्वजनिक गरे। सेती कोरिडोर विकास योजनाअन्तर्गत शान्ति वन जैविक विविधता उद्यानको सुधार, रामघाट जलाधारलाई जलविहार तथा मनोरञ्जन केन्द्रका रूपमा विकास गर्ने र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयदेखि बागमारा क्षेत्रसम्मलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उनको भनाइ छ।

गुरुङले पोखरालाई साहसिक खेलकुदको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्दै खेलकुद पर्यटनमार्फत ठूलो मात्रामा स्वरोजगारी सिर्जना गरिने बताए। वन डढेलो नियन्त्रणका लागि आधुनिक प्रविधि, तालिमप्राप्त जनशक्ति र सामुदायिक वन उपभोक्ता समितिलाई आवश्यक स्रोतसाधन उपलब्ध गराई तत्काल प्रतिक्रिया प्रणाली लागू गरिने पनि उनले स्पष्ट पारे।

कृषि र ऊर्जा क्षेत्रको रूपान्तरणबारे बोल्दै गुरुङले जलवायु उत्थानशील कृषि प्रणाली लागू गरी कृषकलाई जलवायु जोखिम बीमाको पहुँचमा ल्याइने, अन्तर्राष्ट्रिय जलवायु वित्तमार्फत ‘जलवायु कोष’ स्थापना गरिने र जलविद्युत आयोजनामा जलवायु उत्थानशील प्रविधि अपनाइने बताए। साथै, Pokhara Digital Ecosystem स्थापना गरी २५ हजार नयाँ रोजगारी सिर्जना गर्ने उनको दाबी छ।

शिक्षा र प्रविधिको क्षेत्रमा सामुदायिक विद्यालय, क्याम्पस र विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) आधारित शिक्षा र तालिम प्रभावकारी रूपमा लागू गरिने उनले बताए। कास्की, स्याङ्जा र तनहुँका स्थानीय तहलाई समेट्दै एकीकृत फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधान कार्यान्वयन गरिने पनि प्रतिबद्धता जनाए।

गुरुङले भूपू गोर्खा सैनिकको ऐतिहासिक योगदानको सम्मान गर्दै ब्रिटिस गोर्खा संग्रहालयलाई आधुनिक ‘गोर्खा संग्रहालय’ मा स्तरोन्नति गरिने र युवाहरूका लागि सम्मानजनक, सुरक्षित तथा सहमति–आधारित भारतीय सेनामा भर्ती प्रक्रिया पुनः सुरु गराउन कूटनीतिक पहल गरिने बताए।

सामाजिक न्यायतर्फ उनले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बस्तीहरूको न्यायपूर्ण, व्यावहारिक र दिगो समाधान सुनिश्चित गरिने बताए। संगीत, कला र मनोरञ्जन क्षेत्रको विकास गर्दै युवालाई रोजगारी र उद्यमशीलतामा जोड्ने, पार्क, खेलमैदान र सार्वजनिक खुला स्थान विस्तार गरी शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उनको योजना छ।

स्वास्थ्य र सुशासनको सन्दर्भमा सरकारी अस्पताल र स्वास्थ्य चौकी स्तरोन्नति गर्दै विशेषज्ञ सेवा र आधुनिक स्वास्थ्य बीमा प्रणाली प्रभावकारी बनाइने तथा कर्मचारीतन्त्रको कार्यसम्पादन मूल्याङ्कन, वित्तीय अनुशासन र वैज्ञानिक लेखापरीक्षणमार्फत AI आधारित सुशासन प्रणाली लागू गरिने उनले बताए।

संस्कृति र ग्रामीण अर्थतन्त्र प्रवर्द्धनका लागि बाटुलेचौरमा ‘सारङ्गी घर’ निर्माण गरी गन्दर्भ समुदायको व्यवस्थापनमा पर्यटकका लागि नेपाली रैथाने संगीत सुन्ने थलो बनाइने तथा भलाम, आँटीघर, मौजा, अर्मला लगायत ग्रामीण क्षेत्रलाई कृषि–पर्यटन र पूर्ण अर्गानिक उत्पादन क्षेत्रका रूपमा विकास गरिने उनले बताए। साथै, कृष्तिदेखि भरतपोखरी र निर्मलपोखरीसम्मको सुन्तला पकेट क्षेत्रमा देखिएको सिट्रस ग्रिनिङ रोगको वैज्ञानिक समाधान गर्दै किसानलाई अनुदानसहित नयाँ बिरुवा वितरण गरिने प्रतिबद्धता व्यक्त गरे।

अन्त्यमा गुरुङले सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गर्ने व्यक्ति तथा गिरोहमाथि तत्काल कानुनी कारबाही अघि बढाइने र पीडितको बचत फिर्ता प्रक्रिया तुरुन्त सुरु गरिने स्पष्ट गर्दै सहकारी ठगीलाई कुनै पनि हालतमा राजनीतिक सौदाबाजीको विषय नबनाइने दोहोर्‍याए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...