आहा राराकाे गाेल्डमा आयाेजककाे जित,फ्लडलाइटको व्यवस्थापनमा प्रशिक्षकाे असन्तुष्टि

एकराज गिरी/पाेखरा रंगशालामा २५ औँ संस्करणकाे‌ आहा रारा गाेल्ड कप फुटबल प्रतियाेगिता सुरु भएकाे छ ।आयाेजक सहारा क्लबले उदघाटन खेलमा मधुराे प्रकाशसंगै‌ सुरु खेलमा पाहुना टाेलि गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ पहिलाे खेलमा पराजित हुदै घर फर्किन बाध्य भयाे  ।

कृत्रिम बत्ती (फ्लडलाइट)मा साँझ खेलाइएको उद्घाटन खेलमा सहाराले गोर्खा इन्टरनेशनललाई १–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो । इन्जुरी समयमा प्रशन्न श्रेष्ठले गरेको गोल सहाराको जितका लागि निर्णायक बन्यो ।

तर, उद्घाटन खेलसँगै फ्लडलाइटको व्यवस्थापनलाई लिएर विवादसमेत देखिएको छ । पाहुना टोली गोर्खा इन्टरनेशनलका प्रशिक्षक लेष्टर पेटर्सले प्रकाशको अभावका कारण खेल्न कठिन भएको गुनासो गरे ।

“भिजिबिलिटी निकै कम छ । थप बत्ती आवश्यक छ । लाइटको उचाइ पनि कम भएकाले सिधै खेलाडीको आँखामा पर्छ,” उनले भने । उचाइको विषयमा सम्झौता गर्न सकिए पनि दृश्यताको विषयमा सम्झौता गर्न नसकिने उनको भनाइ थियो ।

यता आयोजक सहाराका प्रशिक्षक सुनिल राना मगरले पनि लाइटिङमा समस्या रहेको स्वीकार गरे । “यस्तै अवस्थामा आगामी खेल खेल्न कठिन हुन्छ,” उनले भने । उनले आफ्नो टोलीले पर्याप्त अभ्याससमेत गर्न नपाएको बताए ।

२५औँ संस्करणको अवसरमा नयाँ प्रयोगस्वरूप साँझको खेल आयोजना गरिएको भए पनि उद्घाटन खेलमा देखिएको कमजोर प्रकाश व्यवस्थापनले प्रतियोगिताको गरिमामा असर परेको देखिएको छ । प्राविधिक अध्ययनबिनै गरिएको फ्लडलाइट प्रयोगले आयोजकको अपेक्षाअनुसार परिणाम नदिएको विश्लेषण गरिएको छ ।

यसैबीच, सहारा क्लबको आयोजनामा सुरु भएको गोल्डकपको उद्घाटन समारोहमा वर्ष खेलाडीको रूपमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य प्रिति राईलाई सम्मान गरिएको छ । गोल्डकप आयोजना गरेको २५ वर्ष पूरा भएको अवसरमा क्लबले विभिन्न २५ जना व्यक्ति तथा संघसंस्थालाई पनि सम्मान गरेको छ ।

हिमश्री फुड्सको उत्पादन ‘आहा रारा चाउचाउ’को मुख्य प्रायोजन रहेको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । प्रतियोगिताको विजेताले १४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...