अब घण्टी बजाउँदै भोट माग्न नपाउने, यस्तो छ आयोगको निर्देशन

काठमाडौं, फागुन — प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ नजिकिँदै गर्दा निर्वाचन प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग गरिएको भन्दै उजुरी आएपछि निर्वाचन आयोग ले त्यस्ता सामग्री प्रयोग नगर्न आग्रह गरेको छ।


आयोगका अनुसार कतिपय राजनीतिक दल वा उम्मेदवारले धातु, काठ वा अन्य कडा सामग्रीबाट बनेका निर्वाचन चिह्न बोकेर प्रचारप्रसार गर्ने गरेको सूचना प्राप्त भएको छ। यसले आम जनमानसको सुरक्षामा जोखिम बढाउने तथा सार्वजनिक शान्ति–व्यवस्थामा प्रतिकूल असर पार्ने सम्भावना रहेको आयोगको ठहर छ।

 


प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१(१) अनुसार निर्वाचनका लागि दल तथा उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्न आयोगले निर्धारण गर्ने व्यवस्था छ। त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा ४३(१) मा दल तथा स्वतन्त्र उम्मेदवारलाई क्रमशः अनुसूची–३० र अनुसूची–३१ बमोजिम निर्वाचन चिह्न प्रदान गरिने उल्लेख छ।

 

आयोगले स्पष्ट पारेअनुसार कपडा, तुल, फ्लेक्स वा कागजमा तोकिएको मापदण्डअनुसार छापिएको झण्डा वा चुनाव चिह्न प्रयोग गर्न सकिनेछ। तर धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेका भौतिक स्वरूपका चिह्न प्रयोग गर्न नपाइने जनाएको छ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा झण्डा तथा चुनाव चिह्नको मापदण्ड तोकिएको उल्लेख गर्दै आयोगले सोही मापदण्डअनुसार मात्रै प्रचारप्रसार गर्न निर्देशन दिएको छ।

 

आयोगले विपरीत कार्य गरेमा आचारसंहिताविपरीत ठहर हुने चेतावनी दिँदै सबै राजनीतिक दल तथा उम्मेदवारलाई नियमको पालना गर्न अनुरोध गरेको छ।उक्त जानकारी आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले सार्वजनिक गरेका हुन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...