साम्बाले गम्भीर घुँडाको चोट उपचारका लागि सहयोगको अपिल

पाेखरा,फागुन।नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले गम्भीर घुँडाको चोट उपचारका लागि सहयोगको अपिल गरेकी छन्। पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी उनले आफ्नो एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको जानकारी दिएकी हुन्।

उनका अनुसार पुनः जटिल शल्यक्रिया आवश्यक रहेको छ। यसअघि एन्फा नेतृत्वको पहलमा उपचारका सम्पूर्ण व्यवस्थापन र सहयोग प्राप्त हुँदा आर्थिक तथा मानसिक रूपमा कुनै समस्या नपरेको र समयमै पुनरागमन गर्न सफल भएको उनले स्मरण गरेकी छन्। तर यसपटक भने एन्फाबाट वाचा गरिएअनुसार सहयोग नपाएको उनको गुनासो छ।

 

चोट लागेको तीन सातापछि क्लबको पहलमा शल्यक्रियाको मिति तय भए पनि एन्फाले आफ्नो तर्फबाट प्रक्रिया अघि बढाउने बताएपछि अघिल्लो प्रक्रिया रोकिएको उनले बताएकी छन्। पटक–पटक सम्पर्क प्रयास गर्दा पनि समन्वय हुन नसकेको र अन्ततः एन्फा अध्यक्षबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी पाएको उनले उल्लेख गरेकी छन्। नगद पाँच लाख रुपैयाँसम्म सहयोग गर्ने प्रस्ताव आएको तर अन्य प्रक्रिया आफैं गर्नुपर्ने अवस्था बनेको उनले जनाएकी छन्। यसका कारण झण्डै दुई महिना ढिलाइ भइसकेको र पुनः शल्यक्रियाको मिति तय गर्नुपर्ने अवस्था आएको छ।

 

हाल उनको क्लबले न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गराउन तयार रहेको जनाएको छ। तर अघिल्लो पटक कतारको अस्पेटार अस्पतालमा उच्चस्तरीय उपचार भएको र चोट गम्भीर प्रकृतिको भएकाले पुनः सोही अस्पतालमा उपचार गराउने इच्छा रहेको उनले स्पष्ट पारेकी छन्। क्लबबाट बीमाबापत प्राप्त रकम उपलब्ध हुने भए पनि शल्यक्रिया तथा ७–८ महिनाको पुनर्स्थापनाका लागि उक्त रकम अपुग हुने जनाइएको छ। प्रारम्भिक अनुमानअनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्नेछ।

 

सरकारसमक्ष पनि उपचार सहयोगका लागि पहल भइरहेको भए पनि प्रक्रिया अपेक्षाअनुसार अघि नबढेकाले तत्काल शल्यक्रिया नगरी बस्न नसकिने अवस्था रहेको उनले बताएकी छन्। आर्थिक रूपमा आफूले अहिलेसम्म आर्जन नगरेको ठूलो रकम उपचारका लागि आवश्यक परेकाले आम समर्थकसमक्ष सहयोगको अपिल गर्नुपरेको उनको भनाइ छ।

 

देशका लागि सधैं शतप्रतिशत योगदान दिएको र आगामी दिनमा पनि नेपालकै जर्सीमा मैदान फर्कने प्रतिबद्धता व्यक्त गर्दै उनले भावुक सन्देश दिएकी छन्, “थाकेको हो, हारेको छैन। पुनः एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु।”

 

नेपालमा रहने समर्थकहरूलाई क्यूआर वा बैंकमार्फत सहयोग गर्न र विदेशमा रहने समर्थकहरूलाई अनलाइन लिंकमार्फत सहयोग गर्न उनले अनुरोध गरेकी छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...