राष्ट्रिय भलिबल प्रतियोगिता हुने, विजेतालाई १० लाख

काठमाडौं — नेपाल भलिबल संघले राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गरिने जनाइएको छ। संघका अनुसार खेलहरू FIVB र Asian Volleyball Confederation (AVC) को नियमअनुसार सञ्चालन गरिनेछन्।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख र तृतीय हुने टोलीले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।


प्रत्येक टोलीमा १२ खेलाडी, एक प्रशिक्षक, एक सहायक प्रशिक्षक र एक व्यवस्थापक गरी १५ सदस्यीय टिम रहने व्यवस्था गरिएको छ। सहभागी टोलीले अनिवार्य रूपमा दुई सेट जर्सी प्रयोग गर्नुपर्नेछ र जर्सी तथा हाफ पाइन्टमा खेलाडी नम्बर उल्लेख हुनुपर्नेछ।

 

प्रतियोगितामा प्रत्येक टोलीले बढीमा तीन जना विदेशी खेलाडी समावेश गर्न पाउनेछ। विदेशी खेलाडीले सम्बन्धित देशको राष्ट्रिय संघबाट जारी ‘नो अब्जेक्सन सर्टिफिकेट’ (NOC) पेश गर्नुपर्नेछ। आवश्यक प्रशासनिक प्रक्रिया नेपाल सरकारको नियमअनुसार पूरा गर्नुपर्ने संघले जनाएको छ।

 

टोली दर्ताको अन्तिम मिति २०८२ चैत १२ गते तोकिएको छ। सो मितिसम्म खेलाडीको नाम, फोटो र जर्सी नम्बर सहित O2 फाराममार्फत दर्ता गरिसक्नुपर्नेछ। दर्ता शुल्क १५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

 

प्रतियोगिताअघि २०८२ चैत १७ गते साँझ ५ बजे टेक्निकल मिटिङ आयोजना गरिनेछ। उक्त मिटिङमा टोलीका कप्तान, प्रशिक्षक र व्यवस्थापकको उपस्थिति अनिवार्य रहनेछ।

 

उपत्यका बाहिरबाट छनोट भएका टोलीलाई प्रतियोगिताको अवधिभर प्रतिव्यक्ति दैनिक १ हजार २०० रुपैयाँका दरले खाना तथा बसोबास खर्च उपलब्ध गराइनेछ। उपत्यकाभित्रका टोलीलाई भने प्रतिव्यक्ति दैनिक ३०० रुपैयाँ खुराक खर्च प्रदान गरिने संघले जनाएको छ।

 

खेलका क्रममा चोटपटक लागेमा प्राथमिक उपचार र खेलाडी बीमाको व्यवस्था गरिएको छ। कुनै टोलीले खेलाडीसम्बन्धी विरोध जनाउनुपरेमा खेल सकिएको आधा घण्टाभित्र ५ हजार रुपैयाँ शुल्क तिरेर प्रमाणसहित उजुरी दिन सकिनेछ। उक्त शुल्क फिर्ता नहुने जनाइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...