एकराज गिरी/पोखरा । प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। कार्यालयले गण्डकी प्रदेशका ११ जिल्लामा समन्वय तथा सहजीकरण गर्दै निर्वाचन सम्पन्न गर्ने तयारी गरेको हो।

देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् भने गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्। प्रदेशमा पुरष ९ लाख १४ हजार ८ सय, महिला ९ लाख ५५ हजार २ सय ५१ र अन्य १४ जना मतदाता रहेका छन्। प्रदेशभर १ हजार २९७ मतदान स्थल र २ हजार ३९६ मतदान केन्द्र तोकिएका छन्।
१८ क्षेत्रमा २३४ उम्मेदवार
गण्डकी प्रदेशका १८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३० जना स्वतन्त्र उम्मेदवारसहित कुल २३४ जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये २९ महिला र २०५ पुरुष उम्मेदवार छन्। सबैभन्दा बढी १८ राजनीतिक दलले कास्कीमा उम्मेदवारी दर्ता गराएका छन् भने सबैभन्दा कम मनाङमा ३ दल मात्र चुनावी प्रतिस्पर्धामा छन्।
उच्च हिमाली क्षेत्रमा विशेष तयारी
३००० मिटरभन्दा माथि रहेका ५४ मतदान केन्द्रमा विशेष तयारी गरिएको छ। मुस्ताङमा १, गोरखामा १५ र मनाङमा १४ सहित विभिन्न जिल्लामा गरी कुल ५४ केन्द्र उच्च हिमाली क्षेत्रमा रहेका छन्।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको शाड्ता गाउँ (४४०० मिटर) र मनाङको नार्पा भूमि गाउँपालिकाका नार र फू गाउँ (४२०० मिटर) मा हिमपातका कारण केन्द्र सार्नुपर्ने प्रस्ताव आएको भए पनि मौसम सुधार भएसँगै सम्बन्धित केन्द्रमै मतदान गर्ने सहमति भएको छ।

कर्मचारी र स्वयंसेवक परिचालन
प्रदेशभर १४ हजार ३५० कर्मचारी र ७ हजार ६५ स्वयंसेवक खटिने छन्। अस्थायी मतदाता २१ हजार ६९३ रहेका छन् भने १७ अस्थायी मतदान केन्द्र तोकिएका छन्। मतपत्रसहित सबै निर्वाचन सामग्री प्राप्त भई मतदान केन्द्रअनुसार छुट्याउने र वितरण गर्ने तयारी अवस्थामा राखिएको छ।
वडास्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ भने मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सम्पन्न भइसकेको छ। मतपेटिका ढुवानी, मतगणना तथा सुरक्षा व्यवस्थापनका लागि चुस्त प्रबन्ध मिलाइएको कार्यालयले जनाएको छ।
कास्कीमा ४९ उम्मेदवार
कास्की जिल्लामा ३ लाख ८ हजार ५७२ मतदाता रहेका छन्। जसमध्ये पुरुष १ लाख ६० हजार १५३, महिला १ लाख ४८ हजार ४१५ र अन्य ४ जना छन्। अस्थायी मतदाता २ हजार ८६१ (पुरुष २१४१, महिला ७२०) रहेका छन्।
जिल्लामा १५३ मतदान स्थल र ३६५ मतदान केन्द्र (२ अस्थायी केन्द्रसहित) तोकिएका छन्। ६ स्वतन्त्रसहित ४९ उम्मेदवार चुनावी मैदानमा छन्, जसमा ५ महिला उम्मेदवार छन्। १८ राजनीतिक दल सहभागी छन्।कास्कीमा अस्थायी केन्द्रसहित २ हजार १८४ कर्मचारी र १ हजार ९२ स्वयंसेवक परिचालन हुनेछन्।
आचारसंहिता उल्लङ्घनमा कारबाही
निर्वाचन आचारसंहितासम्बन्धी ध्वनि प्रदूषण, झण्डाको दुरुपयोग, भोजभतेर, निर्वाचन चिन्हको भौतिक प्रयोग, २५ जनाभन्दा बढीको घरदैलो, निर्वाचन चिन्ह अंकित ब्याच तथा पहिरन प्रयोगलगायत विषयमा मौखिक उजुरी प्राप्त भएको र आवश्यक कारबाही गरिएको जनाइएको छ।
निर्वाचन व्यवस्थापन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला निर्वाचन सुरक्षा समिति तथा निर्वाचन सेल सक्रिय रहेको कार्यालयले जनाएको छ।
निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, आम मतदाता तथा पर्यवेक्षण संस्थाहरूलाई निर्वाचन सफलताका लागि शुभकामना समेत व्यक्त गरेको छ।