कास्की–१ का सांसद गनेश पौडेलले‌ सार्वजनिक गरे पाँच वर्षमा ‘नगर्ने काम’

पोखरा । कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खडकराज पौडेल (गनेश) ले सामाजिक सञ्जालमार्फत आफुले  ‘अबका पाँच वर्ष नगर्ने काम’ सार्सवजनिक गरेका छन ।


नवनिर्वाचित सांसद पौडेलले आफ्नो फेसबुकमार्फत १३ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै सांसद भएको नाताले स्रोत–फोर्स, भनसुन, सिफारिस तथा निजी स्वार्थका काम नगर्ने स्पष्ट पारेका छन्।

उनले आफूसँगको पारिवारिक, सामाजिक वा राजनीतिक सम्बन्धको आडमा जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन आग्रह नगर्न अनुरोध गरेका छन्। त्यसैगरी स्कुल वा क्याम्पसमा स्कलरसिप मिलाइदिन, ट्राफिक नियम उल्लङ्घनपछि कारबाहीबाट बचाइदिन, तथा लागूऔषध, ठगी, जालसाजी, कुटपिट, चोरी–तस्करीजस्ता मुद्दामा भनसुन गर्न आग्रह नगर्न पनि उनले उल्लेख गरेका छन्।

 

सांसद पौडेलले महिला, दलित, यौनिक अल्पसंख्यक, आङ्गता भएका व्यक्ति लगायत सिमान्तकृत समुदायमाथि हुने हिंसा वा ज्यादतीका घटनामा केस मिलाइदिन सहयोग नमाग्न आग्रह गर्दै त्यस्ता घटनाविरुद्ध आफू उल्टै खनिने बताएका छन्।

 

त्यसैगरी ठेक्का–टेन्डर मिलाइदिन, विश्वविद्यालय वा प्रज्ञा प्रतिष्ठान जस्ता संस्थामा मनोनयनका लागि सिफारिस गर्न, आर्थिक प्रलोभनमा पारेर काम गराउन वा सरकारी प्रक्रियामा ‘shortcut’ खोज्न सहयोग नगर्ने उनको भनाइ छ।

 

विकास बजेट आफ्नै टोल वा गाउँमा मात्र हालिदिन आग्रह नगर्न पनि उनले उल्लेख गर्दै विकासको वितरण समानुपातिक र योजनाबद्ध हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

 

साथै “मैले तपाईंलाई भोट हालेको हुँ” भन्दै बिहेवारी, व्रतबन्ध, पास्नी वा भोजमा नबोलाउन आग्रह गरेका पौडेलले दुःख वा मरण परेको बेला भने भ्याएसम्म आफू आफैँ पुग्ने बताएका छन्।

 

सांसद पौडेलको यो पोस्ट सामाजिक सञ्जालमा धेरैले सकारात्मक सन्देशका रूपमा लिएका छन् भने केहीले भने व्यवहारमा कत्तिको लागू हुन्छ भन्ने विषयमा चासो व्यक्त गरेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...