पोखरा । सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकमाथि बलात्कारपछि भएको हत्याको घटनाले देशभर आक्रोश फैलिएको छ । उक्त घटनाले राज्यको सुरक्षा संयन्त्र र न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।

यसै घटनाको विरोधमा पोखराका विद्यार्थीहरू निरन्तर सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सडक नाटक प्रस्तुत गर्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न दबाब दिएका छन् ।
पोखरामा आयोजित प्रदर्शनका क्रममा विद्यार्थीहरूले भावुक र सशक्त सडक नाटकमार्फत पीडितको पीडा, समाजको मौनता तथा न्याय प्रणालीप्रतिको असन्तुष्टि उजागर गरेका थिए । विशेषगरी पृथ्वीनारायण क्याम्पस का विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रम थप प्रभावकारी बनेको थियो ।
प्रदर्शनमा सहभागी युवाहरूले देशभर महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै कडा कदम चाल्न सरकारसँग माग गरेका छन् । केही दिनअघि प्लेकार्डसहित विरोध प्रदर्शन गरिसकेका उनीहरूले अब पनि माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
‘न्याय म¥यो’ र ‘बलात्कारी राज्य’ जस्ता सन्देशसहित प्रस्तुत गरिएको नाटकले दर्शकहरूलाई भावुक बनाएको थियो ।
कार्यक्रममार्फत पीडितका लागि न्याय मात्र नभई सम्पूर्ण महिला सुरक्षाको सुनिश्चितता गर्नुपर्ने आवाज उठाइएको थियो ।
अभियन्ता सरस्वती पुरीका अनुसार, पछिल्लो समय बलात्कारपछि हत्या गर्ने र दोषी उम्किने प्रवृत्ति बढ्दै गएकाले दबाबमूलक कार्यक्रम आवश्यक भएको हो ।
इनिशा विकको घटनाले केवल एउटा परिवार मात्र होइन, सिंगो समाजलाई स्तब्ध बनाएको छ । पोखरामा जारी प्रदर्शन र सडक नाटकहरूले यही पीडा, आक्रोश र न्यायप्रतिको मागलाई सशक्त रूपमा प्रस्तुत गरिरहेका छन् ।
अब यो मुद्दा केवल एक व्यक्तिको न्यायमा सीमित नभई सम्पूर्ण महिला सुरक्षासँग जोडिएको विषय बनेको छ । समयमै प्रभावकारी कदम नचालिए यस्तो आक्रोश अझ व्यापक आन्दोलनमा परिणत हुने संकेत देखिएको छ ।