पोखरा । पोखरामा बार्टेन्डिङ तथा मिक्सोलोजी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ‘पोखरा फ्लेयर मास्टर च्याम्पियनसिप’ आयोजना हुने भएको छ। कार्यक्रम यही चैत २७ पोखराको ताजमहल इभेन्ट सेन्टर प्रस्याङमा विहान ७ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ।

कान्तिपुर होटल ट्रेनिङ सेन्टरको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा देशभरका बार्टेन्डर तथा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा सहभागीहरूले आफ्नो सीप प्रदर्शन गर्दै फ्लेयरिङ, मिक्सोलोजी, ककटेल तथा मोकटेल निर्माण कला प्रस्तुत गर्नेछन् संचालक विजय पाैडेलले जानकारी दिए ।
आयोजकका अनुसार कार्यक्रमले नेपालको होटल तथा पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। साथै, प्रतियोगितामार्फत युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको बार्टेन्डिङ सीप विकास गर्न प्रोत्साहन गरिने पाैडेलले बताए ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई नगद पुरस्कार, ट्रफी, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। प्रथम पुरस्कारस्वरूप २० हजार रुपैयाँ नगदसहित अन्य आकर्षक पुरस्कारहरू व्यवस्था गरिएको छ भने अन्य स्थान हासिल गर्नेहरूलाई पनि नगदसहित सम्मान गरिने जनाइएको छ।
कार्यक्रममा अनुभवी निर्णायकहरूको सहभागिता रहनेछ। निर्णायकमा एफबीआई काठमाडौंका युब्राज पुन, बार्टेन्डर नेपालका सुरज महार्जन, स्टेप अप हस्पिटालिटीका बिष्णु सारु र सिटिइभिटी पोखराका सैलेन्द्र साहि रहनेछन्।कार्यक्रमले पोखरालाई पर्यटन तथा आतिथ्य क्षेत्रको प्रमुख केन्द्रका रूपमा थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
नेपाली कलाकार तथा प्राविधिक दक्षतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्यसहित आयोजना हुन लागेको उक्त प्रतियोगितामा बारटेन्डिङ (मिक्सोलोजी) सम्बन्धी सीप प्रदर्शन गरिनेछ। कार्यक्रममा बोतल फ्लेयर (Bottle Flair Showmanship), ककटेल तथा मकटेल निर्माण कला र प्रस्तुति शैलीलाई मुख्य रूपमा प्रतिस्पर्धात्मक ढंगले प्रस्तुत गरिनेछ।
प्रतियोगिता ‘मेटो बाघ भोड्का’को प्रस्तुतीमा आयोजना हुन लागेको हो भने कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज एजुकेसन पार्टनरको रूपमा जोडिएको छ। उक्त कलेजले २०७० सालदेखि होटल म्यानेजमेन्ट र कलिनरी आर्ट्स (पाककला) मा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। कलेजमा अध्ययन गरेका विद्यार्थीहरू नेपाल तथा विदेशका पाँचतारे होटल, ककटेल बार, फाइन डाइनिङ रेष्टुरेन्ट र क्यासिनोहरूमा कार्यरत रहेको जनाइएको छ।
आयोजकका अनुसार मिक्सोलोजी केवल पेय पदार्थ तयार गर्ने कार्य मात्र नभई स्वाद, प्रस्तुति र मनोरञ्जनलाई समेट्ने कला र विज्ञानको संयोजन हो। पाहुनाको स्वादअनुसार तितोपन, मिठास तथा विभिन्न फ्लेभरलाई सन्तुलित गर्दै पेय पदार्थ तयार पार्ने सीपका साथै फ्लेयर बारटेन्डिङमार्फत बोतल घुमाउने, कलात्मक प्रस्तुति दिने जस्ता क्रियाकलापले ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा पोखरा, चितवन लगायत विभिन्न शहरबाट ३७ जना राष्ट्रियस्तरका बारटेन्डरहरूको सहभागिता रहनेछ। प्रतियोगिताले युवा पुस्तालाई सीपमूलक पेशातर्फ आकर्षित गर्दै पर्यटन व्यवसायमा रोजगारी सिर्जना र आम्दानी वृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
आकर्षक पुरस्कार व्यवस्था
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीहरूलाई नगदसहित विभिन्न आकर्षक पुरस्कार प्रदान गरिनेछ।
प्रथम पुरस्कार: नगद रु. ४०,०००, प्याराग्लाइडिङ, ट्रफी, गिफ्ट ह्याम्पर, सम्मानपत्र र प्रमाणपत्र
द्वितीय पुरस्कार: नगद रु. २५,०००, ट्रफी, गिफ्ट ह्याम्पर, सम्मानपत्र र प्रमाणपत्र
तृतीय पुरस्कार: नगद रु. १५,०००, गिफ्ट ह्याम्पर, सम्मानपत्र र प्रमाणपत्र
विशेष पुरस्कारहरू: नगद रु. ३,००० र रु. २,००० सहित ट्रफी, गिफ्ट ह्याम्पर, सम्मानपत्र र प्रमाणपत्र