काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ले आफू सम्बन्धी बजारमा फैलिएको हल्लाको खण्डन गरेका छन् । उनले यस्ता हल्ला पुरानै प्रवृत्ति भएको उल्लेख गर्दै प्रलोभनमा पार्न नसकेपछि विवादमा तान्ने प्रयास हुने गरेको बताएका छन् ।

मन्त्री पौडेलले आफ्नो मातहतको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सधैं सर्वसाधारणका लागि खुला रहने स्पष्ट पारे । उनले केही दिनअघि जारी गरिएको सूचनाबारे पनि स्पष्ट पार्दै अनलाइनमार्फत भेटघाटको मिति र समय तय गर्न सकिने व्यवस्था गरिएको भए पनि अन्य माध्यमबाट भेट्न नपाइने भन्ने आशय नभएको बताए ।
उनका अनुसार भेटघाटका लागि समय आजकै दिन, केही दिनअघि वा एक घण्टा अगाडि तय गर्न सकिनेछ । साथै, आकस्मिक गुनासा वा सुझावका लागि नागरिक जुनसुकै समयमा मन्त्रालयमा आउन सक्ने उनले उल्लेख गरे ।
मन्त्री पौडेलले आफ्नो फोन नम्बर समेत सार्वजनिक रहेको जनाउँदै आवश्यक परामर्श तथा गुनासाका लागि सिधै सम्पर्क गर्न सकिने बताएका छन् । तर, केवल बधाई, शुभकामना वा व्यक्तिगत नजिकिनका लागि भने मन्त्रालय नआउन आग्रह गर्दै उनले काम केन्द्रित भेटघाटलाई प्राथमिकता दिनुपर्ने बताए ।