पोखरा– पोखरा महानगरपालिका वडा नम्बर १७ को नवनिर्मित वडा कार्यालय भवन आज एक समारोहबीच उद्घाटन गरिएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर बैशाख १ गते भवन उद्घाटन गरिएको हो।

भवनको उद्घाटन महानगरपालिकाका मेयर धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ तथा वडा अध्यक्ष राधिका शाही योगी ले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष योगीले नयाँ भवनबाट सेवा प्रवाह अझ सहज, छरितो र प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। उनका अनुसार आधुनिक संरचनासहितको भवनले स्थानीयवासीलाई सेवा लिन थप सुविधा प्रदान गर्नेछ।
“वडा कार्यालयबाट प्रदान गरिने राजस्व संकलन, प्राविधिक सेवा लगायतका कामहरू अब व्यवस्थित रूपमा सञ्चालन हुनेछन्,” उनले भनिन्।
‘वडा कार्यालय भवन निर्माण, वडा नं. १७’ शीर्षकमा निर्माण गरिएको उक्त भवन ठेक्का नम्बर92/PMC/NCB/W/B/079-80 अन्तर्गत निर्माण गरिएको हो। काठमाडौँस्थित नेचुरल फर्निसिंग एण्ड कन्स्ट्रक्सन प्रा.लि. ले निर्माणको जिम्मा लिएको थियो।
२०८० असार २८ गते सम्झौता भई २०८२ असोज १० गते निर्माण सम्पन्न भएको भवनको लागत अनुमान ४ करोड ६५ लाख ८१ हजार ५०७ रुपैयाँ ९१ पैसा (भ्याट र पीएस बाहेक) रहेको थियो। सम्झौता रकम ३ करोड ८६ लाख १६ हजार ८९२ रुपैयाँ ७९ पैसा रहेकोमा हालसम्म ३ करोड ५५ लाख ८३ हजार १४३ रुपैयाँ ५ पैसा भुक्तानी गरिएको छ।
चार तल्ले उक्त भवनको कुल क्षेत्रफल ९८२.५८ वर्ग मिटर रहेको छ। भवनमा भुईँ, पहिलो र दोस्रो तल्लाको क्षेत्रफल समान ३०९.४७ वर्ग मिटर रहेको छ भने तेस्रो तल्लाको क्षेत्रफल ५४.१७ वर्ग मिटर रहेको छ।
नवनिर्मित भवन सञ्चालनमा आएसँगै वडा कार्यालयबाट प्रदान हुने सेवाहरू थप व्यवस्थित र सेवाग्राहीमैत्री हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा मेयर धनराज आचार्य,उपमेयर मञ्जुदेवी गुरुङ,वडा नम्वर २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग, वडा सदस्य बिक्रम गुरुङ र वडासचिव लगायतले वडा कार्यालय निमार्णले सेवा प्रवाहमा सहजता ल्याउने बताए ।