पाेखरा ।पोखरामा गत माघ महिनामा सम्पन्न छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिताबाट साढे २२ लाख ६५ हजार रुपैयाँ बचत भएको छ। आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले शनिबार सार्वजनिक गरेको आयव्यय प्रतिवेदनमा उक्त बचत देखिएको हो।

टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माका अनुसार प्रतियोगिताबाट कुल १ करोड ६० लाख रुपैयाँ आम्दानी भएको थियो। भलिबल खेल अवलोकन गर्न आएका दर्शकबाट उठाइएको सिजनल तथा प्रवेश शुल्क टिकटबाट मात्रै ६० लाख रुपैयाँभन्दा बढी आम्दानी भएको उनले जानकारी दिए।
प्रतियोगिता सञ्चालनका लागि १ करोड ३७ लाख ४२ हजार ६१९ रुपैयाँ खर्च भएको बताउँदै शर्माले बचत भएको रकम सामाजिक तथा खेलकुद क्षेत्रमा लगानी गरिने बताए।
माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालाको भलिबल मैदानमा आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमको सहभागिता रहेको थियो।
प्रतियोगिताको महिलातर्फ टिप टप न्यु डाइमन्ड स्पोर्टस क्लब विजेता बनेको थियो भने नेपाल पुलिस क्लब दोस्रो र थाइल्यान्ड क्विन्स तेस्रो स्थानमा रहे।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघले उपाधि जित्दा नेपाल पुलिस क्लब दोस्रो र पर्वत जिल्ला भलिबल संघ तेस्रो बनेका थिए।