फुटपाथ अतिक्रमण गर्ने २०२ सवारी साधनमाथि कारबाही

पोखरा, जेठ ६ — जिल्ला प्रहरी कार्यालय, कास्की ले पोखराका विभिन्न क्षेत्रमा फुटपाथमा पार्किङ गरी आवतजावतमा अवरोध पुर्‍याउने सवारी साधनमाथि कारबाहीलाई तीव्र बनाएको छ।
आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत जारी प्रेस विज्ञप्तिअनुसार जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा पोखरा महानगरपालिका का नगर प्रहरीहरूको संयुक्त टोलीले मंगलबार पोखराका विभिन्न मुख्य क्षेत्रमा अनुगमन तथा कारबाही गरेको हो।


सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा, महेन्द्रपुल, पालिखेचोक, नयाँबजार र पृथ्वीचोक क्षेत्रमा फुटपाथमा मोटरसाइकल तथा स्कुटर पार्किङ गरी सर्वसाधारण तथा फरक क्षमता भएका व्यक्तिहरूलाई हिँडडुल गर्न कठिन हुने अवस्था सिर्जना गरिएको पाइएपछि २०२ वटा दुईपाङ्ग्रे सवारी साधनमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।

 

कारबाहीमध्ये १०१ वटा सवारी साधनलाई ‘अन द स्पट’ कारबाही गरिएको छ भने थप १०१ वटा दुईपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ८१ वटा स्कुटर र २० वटा मोटरसाइकल रहेका छन्।

 

प्रहरीका अनुसार सार्वजनिक स्थान तथा फुटपाथ अतिक्रमण गरी सवारी पार्किङ गर्ने कार्यलाई नियन्त्रण गर्न आगामी दिनमा पनि संयुक्त अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइनेछ।
प्रेस विज्ञप्तिमा प्रहरी निरीक्षक एंव सूचना अधिकारी गणेश पाण्डे ले जानकारी दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...