फेवातालमा पर्यटक चढेको डुंगा पल्टेपछि

पोखरा, जेठ ७ ।पाेखराकाे शान्त फेवाताल एकाएक अशान्त बन्याे
बिहीबार बिहान करिब ८ः४५ बजेको थियो । फेवातालको शान्त पानीमा पर्यटकहरू डुंगा चढेर बिहानको आनन्द लिइरहेका थिए । तालमाथि हल्का हावा चलिरहेको थियो र वातावरण सामान्य देखिन्थ्यो ।

अचानक एउटा मोटरबोट तीव्र गतिमा तालमा अघि बढ्यो । मोटरबोटले उठाएको ठूलो छालले पर्यटक चढेको डुंगालाई एकाएक असन्तुलित बनायो र केही क्षणमै डुंगा पल्टियो । तालको बीचभागबाट “बचाउ… बचाउ…!” भन्ने आवाज गुञ्जियो । वरपर रहेका मानिसहरू झस्किए । पाेखराकाे शान्त फेवाताल एकाएक अशान्त बन्याे । उद्वारका लागि सेना,प्रहरी र शसस्त्र प्रहरी खटिए ।

 

तर ताल किनारमा तयारी अवस्थामा रहेको उद्धार टोलीले  बताइएकाे आवाज सुन्ने बित्तिकै  कत्ति ढिला नगरि उद्वारमा जुटे ।   उद्धारकर्मीहरू तत्काल पानीमा हामफाल्दै डुंगामा रहेका व्यक्तिहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न जुटे । केही मिनेटमै अधिकांशलाई उद्धार गरियो ।

 

त्यहीबीच अर्को सूचना आयो— “एक जना अझै हराइरहेका छन् ।” त्यसपछि विशेष गोताखोर टोली तालको गहिराइमा पुगेर खोजतलासमा जुट्यो । केही समयपछि गोताखोरहरूले हराइरहेका व्यक्तिलाई पनि सकुशल बाहिर निकाले । ताल किनारमा उपस्थित सबैले राहतको सास फेरे ।

 

तर यो कुनै वास्तविक दुर्घटना थिएन । पानीजन्य विपद्का बेला कसरी तत्काल उद्धार गर्ने भन्ने विषयमा गरिएको जीवन्त संयुक्त अभ्यास (सिमुलेसन) थियो ।

 

जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना तथा जिल्ला विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न निकायहरूको सहकार्यमा “उद्धार सम्बन्धी संयुक्त अभ्यास–२०८३” सञ्चालन गरिएको हो । “विपद् आकस्मिक र अप्रत्याशित रूपमा आउँछ, पूर्वतयारी गरौँ र सुरक्षित बनौँ” भन्ने मूल नाराका साथ अभ्यास गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सुरेन्द्रराज पाण्डेले गर्नुभएको थियो । उहाँले विपद् व्यवस्थापनमा पूर्वतयारी, समन्वय र समुदायस्तरको सचेतना अत्यन्त आवश्यक रहेको बताउनुभयो ।

 

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी हरेक वर्ष विपद् पूर्वतयारी तथा कृत्रिम अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार सामग्री खरिद, राहत वितरण, गोताखोर तालिम, कम्युनिटी सर्च एन्ड रेस्क्यु तालिम तथा विपद् व्यवस्थापन सिमुलेसन अभ्यास नियमित रूपमा हुँदै आएका छन् ।

 

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पानीजन्य विपद्बाट हुने क्षति न्यूनीकरण गर्न यस्तो अभ्यास गरिएको बताउनुभयो । अभ्यासमा कृष्णदल गण फूलबारी ब्यारेक पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की तथा सशस्त्र प्रहरी बल कालिका गणको संयुक्त सहभागिता रहेको थियो ।

 

कार्यक्रममा सुरक्षा निकायका उच्च अधिकारी, उद्धारकर्मी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति थियो । अभ्यास टोलीले विपद्को समयमा छिटो, समन्वित र प्रभावकारी उद्धार कसरी गर्न सकिन्छ भन्ने व्यवहारिक रूपमा प्रस्तुत गरेको थियो ।

 

वर्षायाम नजिकिँदै गर्दा ‘तालैतालको सहर’ पोखरामा यस्ता अभ्यासले विपद् जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...