पोखरा, जेठ १० । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले न्यायमा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको बताउनुभएको छ ।

प्रेस क्लब गण्डकीले शनिबार पोखरा महानगरपालिका वडा नं. २३ बराङमा आयोजना गरेको “नागरिकसँग न्यायिक प्रशिक्षण तथा अन्तरक्रिया” कार्यक्रममा बोल्दै उहाँले सबै नागरिकलाई समान रूपमा न्यायको पहुँच उपलब्ध गराउने उद्देश्यले न्यायिक समिति गठन गरिएको स्पष्ट पार्नुभयो ।
उहाँले नागरिकले आफूले निर्वाचित गरेका जनप्रतिनिधिसमक्ष आफ्ना समस्या तथा विवाद सहज रूपमा राख्न सकून्, छिटोछरितो समाधान होस्, आर्थिक भार कम होस् र समयको बचत होस् भन्ने उद्देश्यले पनि न्यायिक समितिको परिकल्पना गरिएको बताउनुभयो ।
उपप्रमुख गुरुङले अदालतसम्म विवाद पुग्दा समय र खर्च दुवै बढी हुने भएकाले स्थानीय तहमै मेलमिलापका माध्यमबाट विवाद समाधान गरी समाजमा सद्भाव र शान्ति कायम गर्न सहज हुने उल्लेख गर्नुभयो । महानगरको न्यायिक समितिले विवाद हुन नदिन तथा विवाद भएमा मेलमिलापलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उहाँको भनाइ थियो ।
कार्यक्रममा डा. योगी विकासानन्दले पोखरा–२३ स्थित मनोक्रान्ति आश्रमले आध्यात्मिक ज्ञानमार्फत मानिसलाई मानसिक शान्ति र आनन्द प्रदान गर्ने केन्द्रका रूपमा काम गरिरहेको बताउनुभयो । ध्यान र ज्ञानका माध्यमबाट मानिसको सकारात्मक परिवर्तन तथा आध्यात्मिक चेतना विकासमा मनोक्रान्ति अभियानले योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले उक्त आश्रममा देश–विदेशबाट मानिसहरू आउने गरेको जानकारी दिँदै पोखराबासीले पनि यसको लाभ लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा सदस्य चेतबहादुर क्षेत्रीले न्यायिक समितिबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै आध्यात्मिक रूपमा परिचित गाउँमा सद्भाव कायम रहने र विवाद उत्पन्न भए मेलमिलापमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया र अधिकार क्षेत्रबारे प्रशिक्षण दिनुभएको थियो भने मेलमिलापकर्ता समन्वयकर्ता सोम लम्सालले मेलमिलाप सूचीकृत प्रक्रिया, आचरण र योग्यताबारे जानकारी गराउनुभएको थियो ।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गौरव त्रिपाठीले गर्नुभएको थियो ।