सामाजिक चुनौती समाधानमा युवाको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ

पोखरा । नेपाल स्काउट गण्डकी प्रदेशको आयोजनामा Finland Nepal Partnership Project अन्तर्गत “स्काउट पिस एण्ड सेक्युरिटी प्रादेशिक शुभारम्भ कार्यक्रम” सम्पन्न भएको छ। नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेश प्रमुख आयुक्त सागर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सरकारकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।


कार्यक्रम अन्तर्गत लागुऔषध दुर्व्यसन, लैङ्गिक हिंसा, लैङ्गिक असमानता तथा जलवायु परिवर्तनजस्ता समसामयिक सामाजिक तथा वातावरणीय विषयमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ११ स्थानमा युवा तथा विद्यार्थीबीच छलफल कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। ती छलफलबाट प्राप्त निष्कर्ष, सुझाव तथा धारणा नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

 

कार्यक्रममा बोल्दै मन्त्री रेखा गुरुङले समाजका विभिन्न चुनौती समाधानका लागि युवालाई केवल दर्शक नभई परिवर्तनका साझेदारका रूपमा अगाडि ल्याउन आवश्यक रहेको बताउनुभयो। उहाँले युवा तथा विद्यार्थीको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निष्कर्षसहितको प्रतिवेदन ग्रहण गर्दै युवाका आवाजलाई प्रदेश सरकारले समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी, नेपाल स्काउटका निर्देशक अर्पण कार्की, सशस्त्र प्रहरी बल नेपाल २४ नं. गणका सशस्त्र प्रहरी नायव उपरीक्षक तुलसीराम पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदी, पोखरा महानगरपालिका वडा नं. ३ का अध्यक्ष प्रकाश उदास, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका खेलकुद शाखा प्रमुख टंकप्रसाद ढकाल, गैरसरकारी संस्था महासंघ नेपालका निवर्तमान अध्यक्ष राम सुवेदी, गण्डकी प्रदेशका अध्यक्ष पदम पहारी, नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकाल तथा वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर थापालगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवालाहरुलाई सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरिएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...