पोखरा, १७ जेठ । आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत तथा पछाडि पारिएका महिलाहरूको अर्थपूर्ण राजनीतिक सहभागिता सुनिश्चित गर्न सञ्चारमाध्यमले सचेतनामूलक र दबाबमूलक भूमिका खेल्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

संकल्प गण्डकीद्वारा शनिबार पोखरामा आयोजित ‘आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढाउनका लागि मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले संविधानले सुनिश्चित गरेको महिला प्रतिनिधित्व व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै सञ्चार क्षेत्रले यस विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका हुन्।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी नारायण कार्की ले संविधान संशोधनको बहस चलिरहेको वर्तमान सन्दर्भमा महिलाको जनसंख्याको अनुपातअनुसार प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा समानुपातिक तथा पर्याप्त प्रतिनिधित्व सुनिश्चित गर्न आवाज उठाउन आवश्यक रहेको बताउनुभयो।
अन्तरक्रियामा प्रस्तुत तथ्याङ्कअनुसार नेपालको संविधानले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था गरे पनि प्रत्यक्ष निर्वाचनमा महिलाको उपस्थिति अझै न्यून रहेको छ। विशेषगरी दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति महिला, दुर्गम क्षेत्रका महिला, अपाङ्गता भएका महिला तथा आर्थिक रूपमा विपन्न महिलाको राजनीतिक पहुँच र नेतृत्वदायी भूमिकामा सहभागिता अपेक्षाकृत कमजोर रहेको औँल्याइएको थियो।
कार्यक्रममा महिला सहभागिता र सशक्तीकरणका क्षेत्रमा हासिल भएका उपलब्धिहरू पनि प्रस्तुत गरिएको थियो। हाल निजामती सेवामा महिलाको सहभागिता २९.५ प्रतिशत पुगेको छ भने संघीय व्यवस्थापिकामा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत रहेको छ। प्रदेश सभामा ३६.३६ प्रतिशत र स्थानीय तहमा ४१.८ प्रतिशत महिला सहभागिता रहेको जानकारी दिइयो। त्यसैगरी महिलाको नाममा घरजग्गा स्वामित्व २३.८ प्रतिशत पुगेको तथा महिला साक्षरता दर ६९.४ प्रतिशत रहेको उल्लेख गरिएको थियो।
आदिवासी जनजाति महिलाको अवस्थाबारे चर्चा गर्दै राष्ट्रिय जनगणना २०७८ अनुसार आदिवासी जनजातिको जनसंख्या १ करोड १ लाख ६८ हजार ८४४ रहेको, जुन नेपालको कुल जनसंख्याको ३४.८६ प्रतिशत रहेको जानकारी प्रस्तुत गरिएको थियो। यद्यपि प्रतिनिधित्व र सहभागितामा सुधार देखिए पनि सीमान्तकृत समुदायका महिलाको नेतृत्व तहमा पहुँच अझै सन्तोषजनक नभएको निष्कर्ष निकालिएको थियो।
कार्यक्रममा वरिष्ठ पत्रकार माधव शर्मा, केशवशरण लामिछाने, माधव रेग्मी तथा जमुना वर्षा लगायतले सीमान्तकृत महिलाको सहभागिता बढाउन सञ्चारमाध्यम, राजनीतिक दल, राज्य तथा नागरिक समाजबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
संकल्प गण्डकीकी अध्यक्ष सरिता तिमिल्सिना को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मिलन भुजेल ले गर्नुभएको थियो भने सञ्चालन सचिव इश्वरी बिक ले गर्नुभएको थियो। कार्यक्रमका सहभागीहरूले आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याएका