पोखरा, जेठ २० । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी प्रादेशिक अस्पताल, कास्कीमा सञ्चालित चमेना गृह (टिफिन तथा खाजा घर) लाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उपभोक्ताबाट गुनासो प्राप्त भएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय, सञ्चारकर्मी तथा राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले चमेना गृहमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा पर्याप्त सरसफाइ नभएको, खरिद–बिक्रीका बिल तथा बिजक उपलब्ध गराउन नसकेको, व्यवसाय नवीकरण नगरिएको तथा मूल्य अभिवृद्धि कर (भ्याट) समेत नराखिएको पाइएको प्रशासनले जनाएको छ।
उक्त अनियमितताका आधारमा चमेना गृहलाई १० हजार रुपैयाँ जरिवाना गरिएको र जरिवाना रकम नेपाल सरकारको राजस्व खातामा दाखिला भइसकेको विज्ञप्तिमा उल्लेख छ।
साथै प्रशासनले चमेना गृहलाई अस्पताल प्रशासनसँग भएको सम्झौताअनुसार मूल्यसूची राख्न, व्यवसायसम्बन्धी कागजात अद्यावधिक गर्न, नियमित सरसफाइ कायम गर्न, म्याद गुज्रिएका सामग्री सुरक्षित रूपमा नष्ट गर्न, खाद्य तथा अखाद्य वस्तु छुट्टाछुट्टै राख्न तथा खरिद–बिक्रीका बिल बिजक उपलब्ध गराउन निर्देशन दिएको छ।