काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज वार्षिक १३ हजार ८०० रुपैयाँ (करसहित) मा उपलब्ध गराएको जनाएको छ।

कम्पनीका अनुसार उक्त अफरअन्तर्गत २ हजार ८२५ रुपैयाँ पर्ने वाईफाई ६ ओएनयू जडान शुल्क नलाग्नेछ भने ग्राहकले केवल १ हजार रुपैयाँ डिपोजिट बुझाए पुग्नेछ। छिटो, भरपर्दो र आधुनिक इन्टरनेट अनुभव चाहने ग्राहकलाई लक्षित गर्दै यो प्याकेज ल्याइएको कम्पनीले जनाएको छ।
यससँगै ग्राहकले मासिक २५० रुपैयाँ (करसहित) थप गरी भायाटिभी सेवा पनि जडान गर्न सक्नेछन्। भायाटिभीमा २०० भन्दा बढी च्यानल, प्रत्यक्ष प्रसारण रोक्ने र पुनः चलाउने सुविधा, कार्यक्रम तालिका, चलचित्र तथा सिरिजलगायतका सामग्री उपलब्ध छन्। वार्षिक प्याकेज लिने ग्राहकलाई पहिलो सेट–टप बक्सको २ हजार २६० रुपैयाँ बराबरको सक्रियता शुल्कसमेत छुट दिइनेछ भने सेट–टप बक्सका लागि १ हजार रुपैयाँ मात्र डिपोजिट लाग्ने कम्पनीले जनाएको छ।
ग्राहकलाई थप सुविधा दिन भायानेटले डामी एपसँग सहकार्य गरेको छ। यसअन्तर्गत वार्षिक प्याकेज नवीकरण गर्ने ग्राहकले १ हजार ५०० रुपैयाँ बराबरको एक वर्षे डामी एप सदस्यता निःशुल्क प्राप्त गर्नेछन्। डामी एपमार्फत रेस्टुरेन्ट, कपडा पसल, सैलुन तथा अन्य विभिन्न व्यवसायिक प्रतिष्ठानमा छुट सुविधा लिन सकिनेछ। यो सुविधा हाल काठमाडौं, पोखरा र चितवनका ग्राहकका लागि लागू गरिएको छ।
भायानेटले यस सिजनको प्रचार अभियान ‘अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै’ भन्ने नारासहित अघि बढाएको छ।
यसैबीच, भायाटिभी प्रयोगकर्ताले फुटबल विश्वकप २०२६ हेर्न आवश्यक कुपन पनि भायानेटमार्फत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। नेपालमा विश्वकप प्रसारण अधिकार हिमालय टिभीसँग रहेको र ग्राहकले प्रति टेलिभिजन ९९९ रुपैयाँ तिरेर कुपन खरिद गरी हिमालय स्पोर्ट्स च्यानलमार्फत खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।
कम्पनीका अनुसार ई–सेवा, खल्ती, फोनपे, कनेक्ट आइपिएसलगायतका डिजिटल भुक्तानी माध्यम प्रयोग गरी कुपन खरिद गर्न सकिनेछ। साथै, भायाटिभीमा देखिने क्यूआर कोड स्क्यान गरेर पनि कुपन खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
भुक्तानी सम्पन्न भएपछि ग्राहकले हिमालय स्पोर्ट्स च्यानलमा कुपन सक्रिय गरी विश्वकपका खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन्। कम्पनीले एउटा कुपन एउटा टेलिभिजनमा मात्र प्रयोग गर्न मिल्ने र एकपटक सक्रिय गरिसकेपछि अर्को टेलिभिजनमा सार्न नमिल्ने जनाएको छ।
थप जानकारीका लागि ग्राहकले भायानेटको ग्राहक सेवा नम्बर ०१–५९७०६४४ मा सम्पर्क गर्न वा नजिकको भायानेट कार्यालयमा पुग्न सक्ने कम्पनीले जनाएको छ।