एकराज गिरी/पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै खेल पूर्वाधार स्तरोन्नति, खेलाडी संरक्षण तथा प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

गण्डकी प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री द्वारा प्रस्तुत बजेट वक्तव्यअनुसार प्रदेशभरका खेल मैदान, रंगशाला तथा अन्य खेल पूर्वाधारको स्तरोन्नति गरिनेछ। प्रतिभावान खेलाडीको पहिचान, प्रशिक्षण, संरक्षण तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। साथै खेल क्षेत्रमार्फत युवालाई अनुशासित, स्वस्थ र प्रतिस्पर्धी बनाउन विभिन्न योजना अघि बढाइनेछ।
प्रदेश सरकारले जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरी खेल गतिविधिलाई थप चलायमान बनाउने नीति लिएको छ। यसबाट खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनुका साथै प्रदेशमा खेल संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ।
बजेट प्रस्तुत गर्दै मन्त्री शेरचनले खेलकुद क्षेत्रको संस्थागत विकास, खेलाडी उत्पादन तथा खेल गतिविधिको विस्तारका लागि गण्डकी प्रदेश खेलकुद परिषद्लाई आगामी आर्थिक वर्षका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
प्रदेश सरकारले खेल पर्यटन र खेल पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखेकाले आगामी वर्ष खेलकुद क्षेत्रको विस्तार, खेलाडी उत्पादन तथा प्रदेशको खेल पहिचान सुदृढ हुने अपेक्षा गरिएको छ। खेल क्षेत्रलाई युवाको क्षमता विकास, स्वास्थ्य प्रवर्द्धन र प्रदेशको गौरवसँग जोड्ने उद्देश्यसहित बजेट व्यवस्था गरिएको मन्त्री शेरचनले बताउनुभयो।