पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पर्यटन, सूचना प्रविधि र औद्योगिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ। प्रदेशको आर्थिक समृद्धिको आधारका रूपमा पर्यटन र उत्पादनमूलक क्षेत्रलाई अघि बढाउने लक्ष्यसहित विभिन्न कार्यक्रम तथा बजेट व्यवस्था गरिएको हो।

बजेटअनुसार फेवाताल क्षेत्रको पर्यटन आकर्षण अभिवृद्धि गर्न लेकसाइड क्षेत्रको क्लोज सर्किट निर्माण कार्यलाई पूर्णता दिइनेछ। साथै फेवा होराइजन पेडेस्ट्रियन ब्रिज (सेल्फी ब्रिज) तथा रुपातालमा सिसाको पुल निर्माण कार्यलाई अगाडि बढाइने भएको छ। फेवातालको मध्यवर्ती क्षेत्रको सौन्दर्यीकरणका लागि पोखरा महानगरपालिकासँगको साझेदारीमा ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
प्रदेश सरकारले “एक जिल्ला : एक पर्यटकीय गन्तव्य” अवधारणालाई कार्यान्वयन गर्दै स्थानीय संस्कृति, होमस्टे, फार्म स्टे तथा रैथाने उत्पादनको ब्रान्डिङ र स्तरीकरण गर्ने नीति लिएको छ। पर्यटकीय सूचना केन्द्र, पर्यटक प्रहरी र आपतकालीन उद्धार सेवाको सुदृढीकरणमार्फत पर्यटक सुरक्षालाई थप प्रभावकारी बनाइने जनाइएको छ।
आगामी पाँच वर्षभित्र अन्तर्राष्ट्रिय पर्यटक आगमन दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्यसहित पर्यटन पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय प्रचार–प्रसार, हवाई पहुँच वृद्धि तथा सीमापार पर्यटन प्रवर्द्धनमा विशेष जोड दिइएको छ।
युवालाई प्रविधिमैत्री रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले “प्रविधिमा जोडौँः समुन्नतिमा मोडौँ” अवधारणाअन्तर्गत पर्यटकीय राजधानी पोखरामा सूचना प्रविधि (आईटी) पार्क निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ।
यसैगरी लोकाहाखोला र पुँडिटार औद्योगिक क्षेत्रको जग्गा प्राप्ति, पूर्वाधार निर्माण तथा सञ्चालनलाई तीव्रता दिइने भएको छ। पर्यटन, उद्योग तथा वाणिज्य प्रशासनसम्बन्धी सेवाहरूलाई क्रमशः अनलाइन प्रणालीमा आबद्ध गर्दै सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाइने लक्ष्य राखिएको छ।
स्थानीय कच्चा पदार्थ र तुलनात्मक लाभका क्षेत्रमा आधारित उत्पादनमूलक उद्योग स्थापना, परम्परागत उद्योगको आधुनिकीकरण तथा उत्पादनको ब्रान्डिङलाई पनि प्राथमिकतामा राखिएको छ। सीपमूलक तालिम, उद्यमशीलता विकास र प्रविधि हस्तान्तरणमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको बजेटमा उल्लेख छ।
पर्यटन, प्रविधि र उद्योगलाई समेट्दै प्रदेश सरकारले लगानी आकर्षण, उत्पादन वृद्धि र रोजगारी सिर्जनामार्फत गण्डकीको आर्थिक विकासलाई गति दिने लक्ष्य अघि सारेको छ।