पोखरा । गण्डकी प्रदेश खेलकुद परिषदले आयोजना गरेको गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता २०८३ मा सहभागी फरक क्षमताका बालबालिकालाई वितरण गरिएको प्रमाणपत्रमा आवश्यक विवरण उल्लेख नगरिएको भन्दै अभिभावकहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतियोगितामा पुरस्कार प्राप्त गरेका बालबालिकालाई प्रदान गरिएको प्रमाणपत्रमा सहभागीको नाम, जिल्ला तथा प्राप्त गरेको स्थानसमेत उल्लेख नगरिएको पाइएको छ। प्रमाणपत्रमा केवल “प्रथम/द्वितीय/तृतीय स्थान हासिल गर्नुभएकोमा” भन्ने सामान्य विवरण राखिएको छ भने विजेताको व्यक्तिगत विवरण खाली छाडिएको देखिन्छ।

यस विषयमा एक अभिभावकले सामाजिक सञ्जालमार्फत आफ्नो छोरा आर्यन दवाडीले प्राप्त गरेको प्रमाणपत्र सार्वजनिक गर्दै आपत्ति जनाएका छन्। उनले फरक क्षमताका बालबालिकालाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा यस्ता त्रुटिपूर्ण प्रमाणपत्र वितरण गर्नु अपमानजनक भएको टिप्पणी गरेका छन्।
उनका अनुसार प्रमाणपत्रमा सहभागीको नाम, ठेगाना तथा उपलब्धि स्पष्ट उल्लेख नगरी खाली प्रमाणपत्र पठाइनुले गण्डकी प्रदेश सरकार, सम्बन्धित मन्त्रालय तथा प्रदेश खेलकुद परिषदको अपाङ्गता भएका बालबालिकाप्रतिको संवेदनशीलतामाथि प्रश्न उठाएको छ।
उक्त प्रतियोगिता असार ५ र ६ गते पोखरामा सम्पन्न भएको थियो। कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद तथा अपाङ्गता क्षेत्रका विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अभिभावकहरूले सम्बन्धित निकायले त्रुटि सच्याएर विजेता खेलाडीहरूलाई सही विवरणसहितको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने माग गरेका छन्।