एकराज गिरी/पोखरा, नेपालमा कफी खेती र उत्पादन निरन्तर विस्तार भइरहे पनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा कफी आयात अझै उच्च रहेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराका निमित्त निर्देशक चन्द्र पुरीका अनुसार नेपालका ४३ जिल्लामा करिब ३० हजारभन्दा बढी किसान कफी खेतीमा आबद्ध छन्।

पुरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर ५,४५१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको थियो, जहाँबाट ६४२ मेट्रिक टन ग्रिन बिन उत्पादन भएको छ। उत्पादन बढ्दै गए पनि सोही वर्ष ११ करोड ४३ लाख रुपैयाँ बराबरको २३० मेट्रिक टन कफी आयात भएको तथ्यांकले देखाउँछ।
गण्डकी प्रदेश कफी उत्पादन र उपभोग दुवै हिसाबले अग्रस्थानमा रहेको छ। प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा कफी उत्पादन हुने गरेको छ भने कास्की, स्याङ्जा, गोर्खा, लमजुङ, तनहुँ र पर्वत प्रमुख उत्पादन क्षेत्र हुन्। प्रदेशमा १,५५१ हेक्टर क्षेत्रफलमा कफी खेती विस्तार भई १५६ मेट्रिक टन ग्रिन बिन उत्पादन हुने गरेको बोर्डले जनाएको छ।
पुरीका अनुसार गण्डकी प्रदेश नेपाली कफीको सबैभन्दा ठूलो उपभोक्ता क्षेत्र पनि हो। विशेषगरी पर्यटकीय शहर पोखरामा मात्रै १,५०० भन्दा बढी कफी पसल सञ्चालनमा रहेका कारण स्वदेशी कफीको खपत उल्लेख्य रहेको उनले बताए।
नेपालमा वि.सं. १९९५ सालदेखि कफी खेती सुरु भएको मानिन्छ। हाल अधिकांश जिल्लामा अरबिका जात को कफी खेती हुँदै आएको छ। नेपालको ८०० देखि १,६०० मिटर उचाइ, उपयुक्त हावापानी, माटो र जैविक उत्पादन प्रणालीका कारण नेपाली कफी स्वाद र गुणस्तरका हिसाबले अन्तर्राष्ट्रिय बजारमा विशेष पहिचान बनाउन सफल हुँदै गएको बोर्डको भनाइ छ।
निमित्त निर्देशक पुरीले नेपाली कफीलाई “पहिचान गरौँ, स्वाद लिऔँ, अपनाऔँ र प्रवर्द्धन गरौँ” भन्ने अभियानमार्फत स्वदेशी उत्पादनको प्रयोग बढाउन सबैलाई आग्रह गरेका छन्।