एकराज गिरी/पोखरा, असार १९ – जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा सञ्चालन गरेको संयुक्त बजार अनुगमनका क्रममा मणिपाल शिक्षण अस्पतालका दुई क्यान्टिनसहित ६ वटा व्यवसायलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरेको छ।
तस्विर एआइ
शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार असार १५ देखि १९ गतेसम्म गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राख्ने, सरसफाइमा लापरबाही गर्ने, मूल्यसूची नराख्ने तथा उपभोक्ता संरक्षणसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने व्यवसायमाथि कारबाही गरिएको हो।
कारबाहीमा पर्नेमा न्यूटी किचन प्रा.लि. र सर्वगुण फुड्स एण्ड किचन, दुवै मणिपाल शिक्षण अस्पतालको चमेना गृह, रहेका छन्। न्यूटी किचनबाट ८ थान भेज प्याटिज, १७ थान चिकेन प्याटिज र १६ थान बेकरीजन्य सामग्री गरी करिब ३ हजार ६८० रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिएको थियो। यस्तै सर्वगुण फुड्स एण्ड किचनबाट ४७ थान बेकरीजन्य सामग्री नष्ट गरिएको प्रशासनले जनाएको छ।
यसैगरी श्रीकृष्ण माडवारी रेष्टुरेन्ट (पोखरा–६, बैदाम), सुनिल भेराइटी तथा खुद्रा कपडा पसल (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल चमेना गृह), गुड डे हस्पिटालिटी प्रा.लि. (पोखरा–६, बैदाम) र जेनिसा केमिकल्सलाई पनि जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
अनुगमनका क्रममा अञ्जली खाजा घर, असिम फेभा फ्रेस हाउस, दाहाल किराना पसल, न्यौपाने किराना पसल र जयसवाल सिड्स सेन्टरबाट समेत म्याद गुज्रिएका तथा अखाद्य खाद्य सामग्री बरामद गरी नष्ट गरिएको प्रशासनले जनाएको छ।
पोखरा महानगरपालिकाका उपप्रमुखको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, एकीकृत सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका प्रतिनिधि सहभागी संयुक्त टोलीले अस्पतालका चमेना गृह, विद्यालय क्यान्टिन, होटल, रेष्टुरेन्ट, किराना तथा खाद्यान्न पसलमा अनुगमन गरेको थियो।
जिल्ला प्रशासन कार्यालयले सबै व्यवसायीलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, म्याद गुज्रिएका खाद्यवस्तु बिक्री नगर्न, नियमित सरसफाइ कायम गर्न, व्यवसाय दर्ता तथा नवीकरण गर्न तथा खरिद–बिक्रीका बिल सुरक्षित राख्न निर्देशन दिएको छ।