पोखरा, असार २६। नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना तथा राष्ट्रिय मौलिक कौरा संरक्षण समितिको सहकार्यमा शुक्रबार पोखरामा मौलिक कौरा संवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षबहादुर रैस मगरले मगर समुदायको मौलिक सांस्कृतिक सम्पदा कौराको संरक्षण र प्रवर्द्धनमा सबै एकजुट हुनुपर्नेमा जोड दिए। विभिन्न जातजातिले आफ्ना संस्कृतिमाथि दाबी गरिरहेका बेला मगर समुदायले आफ्नै मौलिक संस्कृति जोगाउन अझ सचेत र सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
उनले कौरा मगर समुदायको मौलिक सांस्कृतिक सम्पदा भएकाले यसको राष्ट्रियस्तरमा सूचीकरण र संरक्षण आवश्यक रहेको उल्लेख गरे। समुदाय स्वयं एकताबद्ध भएर आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउन लाग्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आले मगरले कार्यपत्र प्रस्तुत गर्दै कौरा नृत्यको इतिहास, विकास र सांस्कृतिक महत्वबारे प्रकाश पारे। उनले कौरा मगर समुदायको पहिचानसँग जोडिएको मौलिक सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको बताए।
राष्ट्रिय मौलिक कौरा संरक्षण समितिका विज्ञ समूह संयोजक यामबहादुर आले मगरले कुनै पनि समुदायको अस्तित्व जोगाउन भाषा, संस्कृति र इतिहासको संरक्षण अपरिहार्य रहेको बताए। उनले आदिवासी जनजातिको पहिचान जोगाउन समुदायगत एकता आवश्यक रहेको धारणा राखे।
नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मौलिक कौरा संरक्षण समितिकी केन्द्रीय सदस्य गीता रखाली मगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। कार्यक्रमको सञ्चालन संघका सचिव बलबहादुर रोका मगरले गरेका थिए।