पोखरा। ‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०८३’ बाट पत्रकार मीना थापा मगर सम्मानित भएकी छन्। नेपाल मगर पत्रकार संघ कास्कीद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारअन्तर्गत उनलाई नगद रु. १५ हजार, सम्मानपत्र तथा दोसल्ला प्रदान गरिएको हो।

पुरस्कार वितरण कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आदिवासी जनजातिका भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सबै पक्षले सक्रिय भूमिका खेल्नुपर्ने बताए। गण्डकी प्रदेश सांस्कृतिक रूपमा समृद्ध रहेको उल्लेख गर्दै उनले प्रदेशमा रहेका मौलिक संस्कृति देशभर र अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन आवश्यक रहेको धारणा राखे।
उनले वर्तमान संविधानले आदिवासी जनजातिसहित सबै नागरिकका अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै संविधानप्रति अनावश्यक भ्रम फैलाउने कार्य उचित नभएको बताए। समयको आवश्यकता बुझेर समाजलाई अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए।
नेपाल मगर संघका केन्द्रीय अध्यक्ष रक्षबहादुर रैका मगरले मगर समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए। मगर समुदायको पहिचान र अधिकारका विषयमा सञ्चारमाध्यमले निरन्तर आवाज उठाउनुपर्ने उनको भनाइ थियो। गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई कामकाजी भाषाका रूपमा लागू गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरे।
गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले सञ्चार क्षेत्रमा महिलाको सहभागिता बढाउन विशेष ध्यान दिनुपर्ने बताइन्। आदिवासी जनजातिका इतिहास, संस्कृति र पहिचानलाई पत्रकारितामार्फत प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता पुरस्कारले महिला पत्रकारलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।
सम्मानित पत्रकार मीना थापा मगरले पुरस्कारले आफूलाई पत्रकारितामा अझ जिम्मेवार र सक्रिय भएर काम गर्न प्रेरणा मिलेको बताइन्। भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणमा पत्रकारितामार्फत निरन्तर योगदान दिने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’, निट डेन्टलका सञ्चालक वीरेन राना मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
प्रतिभा छनोट समितिका संयोजक तथा फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीष मगरले सम्मानित पत्रकार मीना थापा मगरको योगदानबारे प्रकाश पारेका थिए भने राष्ट्रिय मौलिक कौरा संरक्षण समितिकी अध्यक्ष नरमाया आले मगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा चौथो कदम मार्ग इकाइ समितिले मौलिक कौरा नृत्य प्रस्तुत गरेको थियो भने मगर सांस्कृतिक संघका सदस्य रमेश थापा मगर लगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए।
यसअघि उक्त पुरस्कारबाट कमला राना मगर, तिलक पुन, प्रताप राना मगर, खेम सारु मगर, एम्बी आस्था मगर, मनोज घर्ती मगर, रुद्र श्रीष मगर र शारदा झेडी मगर सम्मानित भइसकेका छन्।