पोखरा, साउन ७ — नेपाल पर्यटन बोर्डका नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताएका छन्।

पोखरा पर्यटन परिषद्ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रका साझा समस्या समाधान, अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी प्रवर्द्धन तथा पर्यटनसँग सम्बन्धित सबै संघ–संस्थाबीच एकीकृत प्रयास आवश्यक रहेको बताए।
पोखरेलले पर्यटन व्यवसायी तथा विभिन्न संघ–संस्थाले देखाएको विश्वासले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै पर्यटन क्षेत्रका साझा समस्या र आवश्यकतालाई नेपाल पर्यटन बोर्डमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे।
नेपाल पर्यटन बोर्डको मूल भूमिका अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्नु रहेको उल्लेख गर्दै उनले पूर्वाधार निर्माणभन्दा पनि विदेशी पर्यटक भित्र्याउने अभियान, अन्तर्राष्ट्रिय प्रचार–प्रसार र स्रोत बजारमा नेपालको उपस्थिति विस्तारमा केन्द्रित हुनुपर्ने धारणा राखे।
उनले नेपालमा अझ धेरै विदेशी पर्यटक भित्र्याउनु अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै पोखराबाट विभिन्न संस्थाले छुट्टाछुट्टै कार्यक्रम सञ्चालन गर्नुको सट्टा साझा अवधारणासहित अन्तर्राष्ट्रिय बजारमा जान सके थप प्रभावकारी परिणाम प्राप्त हुने बताए।
सरकारले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखी विदेशी ब्लगर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गराउने रणनीतिमा काम गरिरहेको जानकारी दिँदै उनले पोखरालाई ‘वेलनेस टुरिजम’ गन्तव्यका रूपमा विकास गर्ने ठूलो सम्भावना रहेको बताए। यससम्बन्धी योजना तथा परियोजनामा निजी क्षेत्रबाट आएका प्रस्तावलाई नेपाल पर्यटन बोर्डमार्फत आवश्यक सहजीकरण गरिने उनको भनाइ थियो।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए। पोखराबाट दुबईका लागि नियमित उडान सुरु भएकाले त्यसको प्रभावकारी प्रचार–प्रसार गर्नुपर्नेमा उनले जोड दिए।
परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने, परिषद्का उपाध्यक्ष हरि भुजेल, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य तथा परिषद्का महासचिव जीवन सापकोटा लगायतले पर्यटन क्षेत्रको विकासका लागि नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए।
उनीहरूले पछिल्लो समय नेपाल पर्यटन बोर्ड पर्यटन प्रवर्द्धनभन्दा पनि पूर्वाधार निर्माणमा बढी केन्द्रित भएको भन्दै व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेको उल्लेख गर्दै अब बोर्डले आफ्नो मूल भूमिकामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए।