काठमाडौं, साउन १० । चौथो नेशनल ब्रान्ड म्युजिक अवार्ड–२०८२ अन्तर्गत उत्कृष्ट आधुनिक गीतकार विधाको शीर्ष पाँच मनोनयनमा गीतकार डा. रमिल अधिकारी परेका छन्। उनको ‘आऊ एउटा बच्चा गरौँ’ बोलको गीत उत्कृष्ट आधुनिक गीतकार विधाका लागि मनोनयनमा परेको हो।

ब्रान्डरुट इन्टरटेन्मेन्टले सार्वजनिक गरेको मनोनयन सूचीअनुसार यस विधामा हरिभक्त बुढाथोकी, सुजन कोइराला, भूपेन्द्र बुढाथोकी, डा. रमिल अधिकारी र अउतारी साइला गुरुङ शीर्ष पाँचमा परेका छन्।
डा. अधिकारी स्वास्थ्य क्षेत्रसँगै साहित्य र संगीतमा पनि सक्रिय स्रष्टाका रूपमा परिचित छन्। सामाजिक सन्देशमूलक र समसामयिक विषयवस्तुलाई गीतमार्फत प्रस्तुत गर्दै आएका उनका सिर्जनाले पछिल्लो समय श्रोतामाझ राम्रो स्थान बनाउँदै आएका छन्। ‘आऊ एउटा बच्चा गरौँ’ गीतले पनि सकारात्मक सन्देश बोकेको भन्दै प्रशंसा पाएको थियो।
मनोनयन सार्वजनिक भएपछि डा. अधिकारीका शुभेच्छुक, संगीतप्रेमी तथा समर्थकहरूले सामाजिक सञ्जालमार्फत बधाई दिँदै उनलाई विजयी बनाउन मतदान गर्न आग्रह गरिरहेका छन्। यसपटक उत्कृष्ट आधुनिक गीतकारको अवार्ड अधिकारीले नै जित्ने अपेक्षा धेरै शुभेच्छुकले व्यक्त गरेका छन्।
यद्यपि, अवार्ड कसले जित्ने भन्ने निर्णय आयोजकको मूल्याङ्कन प्रक्रिया तथा सार्वजनिक मतदानको नतिजाका आधारमा हुने भएकाले अहिले नै विजेता को हुने भन्ने निश्चित भइसकेको छैन। त्यसैले डा. अधिकारी अवार्डका बलिया दाबेदार भए पनि अन्तिम नतिजा भने अवार्ड घोषणा भएपछि मात्रै थाहा हुनेछ।
आयोजकले ई–सेवामार्फत मतदान खुला गरेको जनाएको छ। समर्थकहरूले ‘Voting & Events’ सेवामा गई उत्कृष्ट आधुनिक गीतकार विधामा आफ्नो मनपर्ने स्रष्टालाई मतदान गर्न सक्नेछन्।