पोखरा, साउन १० — नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ बाट रु. ७ लाख ७१ हजार ४१८ बचत भएको जनाएको छ।

आइतबार आयोजित अवार्डको आय–व्यय सार्वजनिक तथा समीक्षात्मक छलफल कार्यक्रममा मञ्चले कुल रु. ३४ लाख ७५ हजार ९३८ आम्दानी भएको र रु. २७ लाख ४ हजार ५२० खर्च भएपछि उक्त रकम बचत भएको जानकारी दिएको हो।
गत वैशाख ३० गते पोखरा–६ स्थित पोखरा इभेन्ट सेन्टरमा सम्पन्न अवार्ड कार्यक्रमको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ रहेको थियो। सह–प्रायोजकका रूपमा गुरुङ गहना घर प्रालि र केल्मी नेपाल रहेका थिए।
मञ्चका कोषाध्यक्ष विमल तिवारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न स्थानीय तह, खेल संस्था, व्यवसायिक प्रतिष्ठान तथा देश–विदेशमा रहेका खेलप्रेमी र पूर्वखेलाडीहरूको आर्थिक सहयोगबाट कार्यक्रम सम्पन्न गरिएको हो।
खर्चतर्फ सबैभन्दा बढी रु. १० लाख ३७ हजार ४६० पुरस्कार वितरणमा खर्च भएको छ। त्यसैगरी खाजा, खाना तथा आवासतर्फ रु. ६ लाख ९८ हजार ३६४, ट्रफी तथा ट्र्याकसुट खरिदमा रु. ४ लाख २२ हजार, सांगीतिक कार्यक्रममा रु. ४ लाख ५० हजार लगायत अन्य शीर्षकमा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ।
मञ्चले अवार्ड कार्यक्रम सफल बनाउन सहयोग गर्ने सरकारी निकाय, स्थानीय तह, व्यवसायिक संस्था, खेल संस्था, खेलाडी, पूर्वखेलाडी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहकार्यको अपेक्षा गरेको छ।
कार्यक्रममा मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरले विगतका कमजोरीबाट सिक्दै संस्थाका गतिविधिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले राजधानी केन्द्रित ठूला कार्यक्रमको प्रभावलाई तोड्दै पोखरा स्पोर्ट्स अवार्डले राष्ट्रिय पहिचान बनाउन सफल भएको बताए।
नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीले पोखरा स्पोर्ट्स अवार्डलाई पोखराको विशिष्ट ‘ब्रान्ड’ कार्यक्रमका रूपमा स्थापित गर्न सबै पक्षबीच सहकार्य र एकता आवश्यक रहेको धारणा राखे।
मञ्चका पूर्वअध्यक्ष केशव पाठकले आर्थिक पारदर्शिता नै कुनै पनि ठूला कार्यक्रमको सफलताको आधार भएको उल्लेख गर्दै प्रत्येक वर्ष आय–व्यय सार्वजनिक गर्ने परम्पराले सुशासन र जवाफदेहितालाई बल पुर्याएको बताए।
पूर्वअध्यक्ष एकराज गिरीले अवार्डलाई आगामी दिनमा अझ परिस्कृत र अपनत्वपूर्ण बनाउनुपर्नेमा जोड दिए। उनले दशौं संस्करणसम्म आइपुग्दा अवार्डले ठूलो आर्थिक कारोबार र प्रभाव जमाउन सफल भएको उल्लेख गर्दै यसको गरिमालाई अझ उचाइमा पुर्याउनुपर्ने धारणा राखे।
अवार्डका परिकल्पनाकार सन्देश श्रेष्ठले सुरुमा करिब रु. ५ लाख बजेटबाट सुरु भएको अभियान अहिले रु. ३५ लाखभन्दा बढी बजेट परिचालन गर्न सक्ने अवस्थामा पुगेको बताए। उनले बचत भएको रकमलाई केवल मौज्दात नराखी खेलकुद पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा विश्लेषणात्मक पत्रकारिता विकासमा लगानी गर्नुपर्ने सुझाव दिए।