पोखरा, साउन १४ । नागरिक मञ्च, गण्डकी प्रदेश ले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादका क्रममा एक जनाको मृत्यु भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ।

मञ्चका संयोजक विष्णु प्रसाद बराल सहित टंक प्रसाद चापागाईं, गणेश भण्डारी, केशु भुजेल र मधु पन्थी ले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र भएकाले समुदायबीचका मतभेद र विवादलाई संवाद, संयमता र आपसी समझदारीका माध्यमबाट समाधान गर्नुपर्ने उल्लेख गरिएको छ। साथै संवेदनशील घटनालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने, सामाजिक तथा धार्मिक सद्भावमा खलल पुग्ने गरी भ्रम फैलाउने तथा साम्प्रदायिक द्वेष बढाउने गतिविधिबाट टाढा रहन सबैमा अपिल गरिएको छ।
नागरिक मञ्च, गण्डकी प्रदेश ले घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन समुदायबीच आपसी विश्वास, सहिष्णुता र सद्भाव अभिवृद्धि गर्ने प्रभावकारी पहल गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ।