कास्कीमा धार्मिक सद्भाव कायम राख्ने सर्वपक्षीय बैठककाे निर्णय

पोखरा, साउन १५ – देशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएको धार्मिक तथा साम्प्रदायिक तनावको प्रभाव कास्कीमा पर्न नदिन जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजनामा सर्वपक्षीय समन्वय बैठक सम्पन्न भएको छ।


बैठकले जिल्लामा धार्मिक, जातीय तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र आपसी भाइचारालाई थप मजबुत बनाउन चारबुँदे निर्णय गरेको हो।

 

बैठकका निर्णयअनुसार देशका अन्य क्षेत्रमा देखिएका धार्मिक तथा साम्प्रदायिक द्वन्द्वको असर कास्कीमा पर्न नदिन सबै पक्षले आफ्नो–आफ्नो क्षेत्रबाट सक्रिय पहल गर्ने सहमति भएको छ।
त्यस्तै, नेपाली समाजमा ऐतिहासिक रूपमा कायम रहेको जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक एकता र सामाजिक सद्भावलाई कमजोर बनाउने कुनै पनि गतिविधिमा संलग्न नहुने तथा यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई सहयोग गर्ने निर्णय गरिएको छ।

 

बैठकले सार्वजनिक स्थानमा कुनै पनि कार्यक्रम आयोजना गर्नुअघि अनिवार्य रूपमा स्थानीय प्रशासनको पूर्वस्वीकृति लिएर मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था कडाइका साथ पालना गर्ने निर्णय पनि गरेको छ।

 

यस्तै, विभिन्न धर्मका अगुवा तथा धर्मगुरुले आफ्नो धर्म–संस्कृतिअनुसार आयोजना हुने कार्यक्रम तथा समारोहमा धार्मिक सहिष्णुता, आपसी सम्मान र सद्भाव कायम राख्ने विषयमा प्रवचन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...