पोखरा, साउन १७ । पोखरा महानगरपालिका–१७ ले घर–घरबाटै फोहोर वर्गीकरण गर्ने अभियानलाई प्रभावकारी बनाउन विभिन्न रङका ५७० थान डस्टबिन वितरण गरेको छ।

वडा कार्यालयले टोल विकास संस्थासँगको साझेदारी तथा वडाको ५० प्रतिशत आर्थिक सहयोगमा करिब ८ लाख रुपैयाँ बराबरका डस्टबिन वितरण गरेको हो। “स्वच्छ वडा, सुन्दर वडा र समृद्ध वडा” तथा “फोहोर वर्गीकरण गरौँ, स्रोतमा बदलौँ” भन्ने नारासहित आयोजित कार्यक्रममा डस्टबिन वितरण गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले वडा भौगोलिक रूपमा ठूलो भएकाले तत्कालका लागि पाइलट परियोजनाका रूपमा अभियान सञ्चालन गरिएको बताउँदै यसको मुख्य उद्देश्य फोहोर व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउनु रहेको स्पष्ट पार्नुभयो।
उहाँले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान घर–घरबाटै स्रोतमै फोहोर वर्गीकरण गर्नु नै भएको उल्लेख गर्दै सचेतनामूलक कार्यक्रमलाई व्यवहारमा उतार्नु सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो।
विगतमा डम्पिङ साइटको समस्याका कारण महानगरभर फोहोर थुप्रिने अवस्था सिर्जना भएको स्मरण गर्दै अध्यक्ष शाहीले घरबाट निस्कने कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्न र नकुहिने फोहोर बिक्री गरी अतिरिक्त आम्दानी गर्न सकिने बताउनुभयो।
उहाँका अनुसार स्रोतमै फोहोर छुट्ट्याउँदा अन्तिम विसर्जनका लागि लैजानुपर्ने फोहोरको मात्रा उल्लेख्य रूपमा घट्ने, वातावरण स्वच्छ रहने तथा समुदायले आर्थिक र वातावरणीय दुवै हिसाबले लाभ लिन सक्नेछन्।
अध्यक्ष शाहीले आगामी दिनमा वडाभित्रका सबै टोल र समुदायमा जनचेतना अभिवृद्धि गर्दै फोहोर व्यवस्थापन अभियानलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन वडा सचिव सुरेन्द्रप्रसाद शर्माले गर्नुभएको थियो।