मर्दी हिमाल ट्रेकिङमा गएका तीन युवा सम्पर्कविहीन

पोखरा, साउन १९ – कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडाबाट मर्दी हिमाल ट्रेकिङमा गएका तीन जना युवा केही समय सम्पर्कविहीन भएपछि खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङ ट्रेकिङका क्रममा जंगल क्षेत्रमा अलपत्र परेका हुन्। उनीहरू साउन २० गते बिहान ८ बजेसम्म सम्पर्कमा रहे पनि त्यसपछि मोबाइल सम्पर्कविहीन भएका थिए।

 

सूचना प्राप्त भएपछि बादलडाँडाका होटल व्यवसायी प्रेम अधिकारीसहित चार जनाको स्थानीय टोली खोजीमा खटिएको थियो। साथै, अस्थायी प्रहरी पोस्ट भेडावारीबाट प्रहरी सहायक हवल्दार जीवन बरालको कमाण्डमा दुई सदस्यीय टोली परिचालन गरी स्थानीय र आफन्तसँग समन्वय गर्दै खोजी सुरु गरिएको थियो। उनीहरूको मोबाइल पनि बन्द रहेको प्रहरीले जनाएको छ।

 

पछि दिउँसो २ बजे उनीहरू अन्नपूर्ण गाउँपालिका–११ छुमरुङ फेदीस्थित मोदी खोलाको पारिपट्टिको क्षेत्रमा रहेको सूचना प्राप्त भएपछि प्रहरी चौकी घान्द्रुकबाट प्रहरी नायब निरीक्षक राजेन्द्र पौडेलको नेतृत्वमा दुई जना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण, हेक्वा कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको नेतृत्वमा १० सदस्यीय उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो।

 

प्रहरीका अनुसार साँझ ५:४५ बजे स्थानीयवासीले तीनै जनालाई मोदी खोलाको पारिपट्टि सकुशल देखेको जानकारी दिएका छन्। उद्धार टोली घटनास्थल नजिक पुगेको र उनीहरूलाई सुरक्षित उद्धार गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरी घटनास्थल पुग्न करिब ४५ मिनेट लाग्ने बताइएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...