भारतीय सेनामा नेपाली युवाको भर्ती पुनः सुरु गर्न माग गर्दै पाेखरामा प्रदर्शन

पोखरा । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपालले नेपाली युवालाई भारतीय सेनामा भर्ती गर्ने प्रक्रिया पुनः सुरु गर्न माग गरेको छ। साथै ‘सैनिक’ शब्द प्रयोग भएका भूतपूर्व सैनिकका संघ–संस्थाको नवीकरण रोकिएको विषयमा समेत तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ।


गोर्खा ब्रिगेड नेपालले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमारसिंह गुरुङमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै दुईवटा मुख्य माग अघि सारेको हो।

 

ज्ञापनपत्रमा नेपाली युवालाई भारतीय सेनामा भर्ती गर्ने प्रक्रिया पुनः सुरु गर्नुपर्ने माग गरिएको छ। सन् २०२२ जुनदेखि भारतले ‘अग्निपथ’ योजना लागू गरेपछि नेपाली युवाको भारतीय सेनामा भर्ती प्रक्रिया रोकिएको उल्लेख गर्दै त्यसले हजारौँ नेपाली युवा रोजगारीको अवसरबाट वञ्चित भएको जनाइएको छ।

 

गोर्खा ब्रिगेडले अग्निपथ योजनाअन्तर्गत भर्ती हुने युवामध्ये १७ वर्ष ६ महिनादेखि २१ वर्षसम्म उमेर समूहका युवालाई चार वर्षसम्म सेनामा सेवा गर्ने अवसर हुने उल्लेख गरेको छ। चार वर्षपछि उत्कृष्ट प्रदर्शन गर्ने करिब २५ प्रतिशतलाई स्थायी सैनिकका रूपमा निरन्तरता दिइने र बाँकीलाई आर्थिक सुविधासहित विदाइ गर्ने व्यवस्था रहेको ज्ञापनपत्रमा उल्लेख छ।

 

नेपालमा भारतीय सेनामा भर्ती प्रक्रिया रोकिँदा युवाको रोजगारी मात्र प्रभावित नभई नेपाल फर्किएपछि उनीहरूले गर्ने आर्थिक गतिविधि र दुई देशबीचको सम्बन्धमा समेत असर पर्न सक्ने भूतपूर्व सैनिकहरूको भनाइ छ।

 

ज्ञापनपत्रमा भारत सरकारले अग्निपथ योजनाको पाँच वर्षे परीक्षण अवधि पूरा गर्ने चरणमा पुगेकाले नेपाली युवालाई समेत त्यसमा सहभागी गराउन भारत सरकारसँग वार्ता गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ।

 

‘सैनिक’ शब्दका कारण संघ–संस्था नवीकरण रोकिएकोमा आपत्ति

 

भूतपूर्व सैनिकहरूले ‘सैनिक’ शब्द प्रयोग भएका संघ–संस्थाको नवीकरण रोकिएको विषयमा पनि आपत्ति जनाएका छन्।
गृह मन्त्रालयले २०८१ वैशाख ४ गते चलानी नम्बर २९८ को पत्रमार्फत ‘सैनिक’ शब्दले नेपाली सेनालाई जनाउने र त्यस्ता संघ–संस्थाका गतिविधिले नेपाली सेनाको छविमा प्रतिकूल असर पर्न सक्ने भन्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई नवीकरण नगर्न निर्देशन दिएको ज्ञापनपत्रमा उल्लेख छ।

 

यसका कारण विगत दुई वर्षदेखि ‘सैनिक’ शब्द भएका भूतपूर्व सैनिकका संघ–संस्थाहरू नवीकरण हुन नसक्दा आफूहरूलाई ठूलो समस्या परेको भूतपूर्व सैनिकहरूको भनाइ छ।

 

ज्ञापनपत्रमा नेपालमा नेपाली सेनाका भूतपूर्व सैनिक मात्र नभई भारत, बेलायत, सिंगापुरलगायत देशका भूतपूर्व सैनिकको पनि ठूलो संख्या रहेको उल्लेख गर्दै उनीहरूले विभिन्न संघ–संस्था स्थापना गरी सामाजिक तथा जनसेवाका काम गर्दै आएको बताइएको छ।

 

‘भूतपूर्व सैनिक’ शब्द लामो समयदेखि प्रचलनमा रहेको भन्दै त्यसैका आधारमा संघ–संस्थाको नवीकरण रोक्नु उचित नभएको उनीहरूको तर्क छ।

 

नेपाली सेनाको छविमा प्रतिकूल असर पार्ने कुनै संघ–संस्थाले गतिविधि गरेको भए त्यस्ता संस्थामाथि कानुनी कारबाही गर्नुपर्ने, तर सबै भूतपूर्व सैनिकका संघ–संस्थालाई नवीकरणबाट वञ्चित गर्नु उचित नभएको ज्ञापनपत्रमा उल्लेख छ।

 

गोर्खा ब्रिगेड नेपालका अध्यक्ष कर्णेल कृष्णबहादुर खत्रीले प्रमुख जिल्ला अधिकारी गुरुङमार्फत आफ्ना माग प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष यथाशीघ्र पुर्‍याइदिन आग्रह गरेका छन्।

 

भूतपूर्व सैनिकहरूले आफ्ना दुवै माग तत्काल सम्बोधन गरी भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया पुनः सुरु गर्न र भूतपूर्व सैनिकका संघ–संस्थाको नवीकरणमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...