पोखरा–२० मा सार्वजनिक सुनुवाइ, नागरिकका प्रश्न र गुनासो सम्बोधन

पाेखरा, भदौ ।पोखरा महानगरपालिका वडा नम्बर २० मा सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ। वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन तथा सम्पन्न गरेका विकास निर्माणका योजना, सेवा प्रवाह र वडाका समग्र गतिविधिका विषयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरेको हो।


कार्यक्रममा वडावासीले वडा कार्यालयबाट प्रदान हुँदै आएका सेवा, विकास निर्माण, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा अन्य सार्वजनिक सरोकारका विषयमा आफ्ना प्रश्न, गुनासा र सुझाव राखेका थिए। नागरिकले वडामा भएका कामको प्रभावकारिता, योजनाको कार्यान्वयन अवस्था र आगामी दिनमा गर्नुपर्ने विकासका कामबारे जनप्रतिनिधिसँग जानकारी मागेका थिए।

सार्वजनिक सुनुवाइका क्रममा नागरिकले विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउनुपर्ने, सेवा प्रवाहलाई अझ सहज र छिटो बनाउनुपर्ने तथा वडाका प्राथमिकताका आधारमा योजना अघि बढाउनुपर्ने सुझाव दिएका थिए।

 

नागरिकले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै पोखरा–२० का वडा अध्यक्ष गंगाबहादुर केसीले वडावासीलाई सहज, सरल र प्रभावकारी रूपमा सेवा प्रदान गर्दै समृद्ध वडा निर्माणको अभियानमा आफूहरू सक्रिय रहेको बताए।

 

उनले निर्वाचनका माध्यमबाट नागरिकले दिएको जिम्मेवारीलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै नागरिकको सेवामा दिनरात नभनी खटिरहेको बताए। वडाको विकास र नागरिकको हितलाई प्राथमिकतामा राखेर उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै काम भइरहेको उनको भनाइ थियो।

 

वडा अध्यक्ष केसीले सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्ने भन्दै नागरिकका गुनासा, सुझाव र प्रश्नलाई आगामी योजना निर्माण तथा सेवा प्रवाहमा समेत समेट्दै जाने प्रतिबद्धता व्यक्त गरे।

 

उनले वडाको विकासमा जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताउँदै वडाको समग्र विकासका लागि नागरिकको रचनात्मक सुझाव र खबरदारीलाई सकारात्मक रूपमा लिने बताए।

 

सार्वजनिक सुनुवाइमा वडा कार्यालयका जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रमले वडा कार्यालयबाट भएका कामको समीक्षा गर्नुका साथै आगामी दिनमा सेवा प्रवाह र विकास निर्माणलाई थप प्रभावकारी बनाउने विषयमा नागरिकसँग प्रत्यक्ष छलफल गर्ने अवसर प्रदान गरेको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...