पाेखरा, भदौ ।पोखराको फेवातालमा काइकिङ गर्ने क्रममा एक विदेशी नागरिक पानीमा परी बेपत्ता भएका छन्।

जिल्ला कास्की, पोखरा–६ स्थित बाराही मन्दिर पारी फेवातालमा शनिबार साँझ करिब ६ः४५ बजे काइकिङ गर्ने क्रममा नामथर र वतन नखुलेका एक पुरुष विदेशी नागरिक तालको पानीमा परी अलपत्र परेको सूचना प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्य बोगटीको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बल, कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुजित कुमार यादवको कमाण्डमा १० जनाको उद्धार टोली घटनास्थलमा खटिएको छ।
टोलीले तालमा बेपत्ता भएका विदेशी नागरिकको खोजी तथा उद्धार कार्य जारी राखेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) कास्कीले जनाएको छ। घटनास्थल वडा प्रहरी कार्यालय बैदामबाट करिब ३ किलोमिटर पश्चिममा पर्छ।