गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’को तयारी पूरा

पोखरा । कल्प मिडिया एन्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्युज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।


प्रतियोगिताबारे जानकारी दिन आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिताबाट प्राप्त मुनाफा भोटेकोशी बाढीबाट प्रभावितलाई सहयोग गर्ने जानकारी दिए। प्रतियोगिताको तयारीका क्रममा सक्रिय पत्रकारको हितलाई प्राथमिकता दिइए पनि पछिल्लो विपद्का कारण उद्देश्य परिवर्तन गरिएको उनले बताए।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको श्रेष्ठले बताए। गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुने टोलीलाई पोखरामा स्वागत गर्न आफूहरू आतुर रहेको उनको भनाइ छ।

 

‘प्रतियोगिता प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध विस्तार तथा प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले खुला खेलाडी अवधारणामा प्रतियोगिता सञ्चालन गरिनेछ,’ श्रेष्ठले भने।

 

प्रतियोगितामा सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ। गण्डकी प्रदेशबाहिरका जिल्लाका पत्रकारले पनि प्रतियोगितामा सहभागी हुन चाहेमा सम्बन्धित जिल्लाका पत्रकारलाई प्रतिनिधित्व गराएर टोली गठन गर्न सकिने व्यवस्था गरिएको छ।

 

कास्कीबाहेकका जिल्लाबाट सहभागी हुने टोलीका लागि आयोजकले दुई छाक खाना र एक रातको बसोबासको व्यवस्था गर्ने जनाएको छ। यातायात खर्च भने सम्बन्धित टोली वा खेलाडीले नै व्यहोर्नुपर्नेछ। सहभागी टोलीलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले यातायात तथा तयारी खर्चका लागि खेलकुद संघहरूसँग सहजीकरण र सहयोगका लागि प्रदेश खेलकुद परिषद् गण्डकीमार्फत पत्राचारसमेत गरिएको आयोजकले जनाएको छ।
परिचयपत्र नभएका तर पत्रकारितामा सक्रिय खेलाडीले सम्बन्धित नेपाल खेलकुद पत्रकार मञ्च वा नेपाल पत्रकार महासंघको जिल्ला शाखाबाट सिफारिस ल्याउनुपर्नेछ।

 

खेलका क्रममा वा खेलपछि कुनै टोलीले खेलाडीको सहभागितामाथि आपत्ति वा विवाद गरेमा त्यसको जिम्मेवारी सम्बन्धित जिल्ला शाखा वा खेलकुद पत्रकार मञ्चको हुने आयोजकले स्पष्ट पारेको छ।

 

प्रतियोगितामा सहभागी खेलाडीको खेल अवधिभर बिमासमेत गरिनेछ। त्यसका लागि सहभागी टोलीले आवश्यक खेलाडी विवरण यथाशीघ्र उपलब्ध गराउन अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन्।

 

प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि यसअघि भदौ २० गतेसम्मको समयसीमा तोकिएको थियो। तर देशमा उत्पन्न पछिल्लो विषम परिस्थितिलाई ध्यानमा राख्दै टोली दर्ताको समय केही दिन थप गर्न सकिने आयोजकले जनाएको छ। दर्ताको समय थपिए पनि प्रतियोगिता भने असोज २ र ३ गते नै सञ्चालन हुने श्रेष्ठले स्पष्ट पारे।

 

प्रतियोगिताको टोली दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र पदक प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र पदक प्राप्त गर्नेछ।

 

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई १ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

 

प्रतियोगिता सफल बनाउन विभिन्न संघ–संस्था तथा व्यावसायिक प्रतिष्ठानले सहकार्य गरेका छन्। प्रतियोगिताको प्रायोजक पोखरा महानगरपालिका–१२ र कफी डे हिमालय रहेको आयोजकले जनाएको छ।

 

त्यस्तै, सहयात्री संस्थाका रूपमा प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगरपालिका खेलकुद विकास समिति तथा पोखरा महानगरपालिका वडा नं. ३ रहेका छन्। प्रतियोगिताको प्रवद्र्धकका रूपमा परिचय एडभर्टाइजिङ र लिड्स इभेन्ट रहेका छन्। एडभेन्चर पार्टनरका रूपमा गो बन्जी र प्रिन्टिङ पार्टनरका रूपमा पीएम सोलुसन रहेका छन्।

 

मेडिकल पार्टनरका रूपमा गण्डकी मेडिकल कलेज तथा अस्पताल र हस्पिटालिटी पार्टनरका रूपमा चाइनिज गार्डेन रेस्टुरेन्ट एन्ड बार रहेका छन्। प्रेस मिटको भेन्यु पार्टनरका रूपमा सफल ब्याङ्केट, अमरसिंह चोकले सहकार्य गरेको आयोजकले जनाएको छ।

 

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था तथा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...